सूचनाको शक्ति - The Power Of Information

        

दुई महिनाकी सुत्केरी थुनामा, पति बेपत्ता

लोलाएको आँखामा चिन्तै चिन्ताले भरिएकी दुई महिनाकी सुत्केरी यतिबेला पीडकका रूपमा थुनामा छिन् । आमा छोरालाई काँखमा खेलाउँदै हो हो बाबु हो हो… नरोऊ बाबु नरोऊ नरोऊ नरोऊ…भन्दै आफूले लगाएको कुर्ताको फेरोले बेरिरहेकी थिइन् । यी महिला हुन्, दोलखा जिरी नगरपालिका–९ की २५ वर्षीया मञ्जु भन्ने सिर्जना खनाल तामाङ घिसिङ ।

उनी आफ्नो छोरालाई काँखमा राखेर दुध खुवाउँदै थिइन् भने अर्को हातले बच्चाको टाउको र जिउ मुसारेसँगै छोराको शिरदेखि पाउसम्म आफ्नो मुखले फुफु गर्दै थिइन् । उनको एक हातमा हत्कडी झुन्डिएको थियो । तैपनि उनको पुरै शक्ति छोरामाथि लगाउँदै गर्दा बच्चाले च्याँच्याँ गर्न भने छोडेको थिएन ।

कुर्तासुरुवालमाथि थुनुवाले लगाउने हाफ ज्याकेटको पहिरनमा ती आमाले बच्चालाई फकाउन भरपुर प्रयास गरिरहेकी थिइन् । कहिले दुध चुसाउँथिन् त कहिले नरोऊ बाबु नरोऊ भन्दै काँखमा हल्लाइरहेकी थिइन् । त्यो बच्चालाई आमाको दुध चाहिएको थिएन । दुई महिलाको बालकले भनोस् पनि कसरी मलाई गाह्रो भइरहेको छ भनेर ।

उसको शरीर पुरै घमौराले भरिएको थियो । त्यो बालकको लुगा सारेर हेर्दा पुरै शरीर राताम्य थियो । त्यसैले होला आमाले जति फकाउन खोज्यो उत्ति धेरै हातखुट्टा फालेर रोइरहेको थियो । तर, पनि आमाको मनै त हो, उनी बच्चालाई थुम्थुम्याउन छोडिनन् । अझै माया गर्दै हातका औंलाले बच्चाको शरीर पुरै मुसार्दै आमा पनि रुन थालिन् । बच्चालाई केही हुन्छ भन्ने ठुलो चिन्ता उनको आँसुको धाराले बताइरहेको थियो ।

‘मेरो बच्चालाई केही भयो भने यही आत्महत्या गरिदिन्छु,’ उनले भक्कानिँदै भनिन्, ‘कति दिनदेखि बच्चा बिरामी भइरहेको छ । यहाँ कसैलाई मतलब नै छैन । दुई महिनाको सुत्केरी हुँ म । यस्तो अवस्थामा बच्चालाई दुध आउने गरेर पोषणयुक्त खानेकुरा र स्याहार गर्नुपर्ने तर केही खान पाएकी छैनन् उनले । त्यसैले होला उनको दुध नै आएको छैन र बच्चाले पनि खान पाएको छैन ।’

अपराधको आरोप उनलाई मात्रै होइन, पतिलाई पनि लागेको छ  । प्रहरीको हिरासतमा दुई महिनाको शिशुसहित उनी परेकी छन् । मानव बेचबिखन ब्युरोका प्रहरीले दुई महिनाकी सुत्केरी आमालाई ल्याउनुको कारणबारे बताए, ‘सिर्जनाले सञ्चालन गरेको मित्रपार्कस्थित स्वागतम् रेस्टुरेन्ट एन्ड बारबाट तीनजना नाबालिकालाई यौन धन्दामा लगाएको सुराकमार्फत ती नाबालिकालाई उद्धार गर्यौं । उक्त बालबालिकालाई केरकार गर्दा यौन कार्यमा लगाएको हो भन्ने खुल्न आयो । त्यसैले उहाँहरूलाई समात्नुपरेको हो ।’

पीडक भनिएकी महिला यो स्वीकार्न तयार छैनन् । महिलाका अनुसार आफू सुत्केरी भएर कोठामा थिइन् । प्रहरीले पतिलाई फेला नपारेपछि अनुसन्धानका लागि भन्दै यी महिलालाई हिरासतमा लिएका हुन् । ‘बुढा कहाँ जानुभएको छ थाहा छैन,’ उनले आँसुको बलिन्द्र धारा बगाउँदै भनिन्, ‘यसरी कस्टडीमा बसेको यत्तिका दिन हुँदा पनि यहाँ आउनुभएको छैन । तर, उहाँले माया त धेरै गर्नुहुन्थ्यो । किन आउनुभएन थाहा छैन । यो बच्चाको मायाले पनि आउनुपर्ने हो ।’

ब्युरोका प्रहरी एसपी गौतम मिश्रका अनुसार प्रहरी खाजा घरमा पुग्दा महिलाका पति थिएनन् । उनलाई तपाईँको पति खोइ भनेर प्रश्न गर्दा ‘घरमा नभएको’ जवाफ दिएकी थिइन् । ‘अहिले मेरा पति घरमा छैनन् । हामीले नानीहरूलाई त्यस्तो नराम्रो काममा लगाएका पनि होइनौं । मेरो बाबु सानो छ । खाना, खाजा र बच्चाको कपडा धुने काममा लगाएका थियौँ । त्यस्तो नराम्रो काममा किन लगाउनु र ? कहाँ लैजानुपर्ने हो मलाई लैजानुस् ।’

उद्धार गरिएका नाबालिकाको भनाइअनुसार पतिपत्नी दुवैले यौन कार्यमा लगाएको भनी खुल्न आएको ब्युरोका एसपी मिश्रले बताए । ‘सानो बच्चा छ, त्यो हामीलाई पनि थाहा छ । हुन त उहाँ पनि आरोपित व्यक्ति नै हुनुहुन्छ,’ एसपी मिश्रले भने, ‘हाम्रो पनि दुई महिनाको बच्चाको आमालाई यसरी कस्टडीमा राख्ने रहर होइन । तपाईको पतिलाई बोलाउनुस्, हामी तपाईँलाई छोडिदिन्छौँ भनेर धेरैपटक भन्दा पतिलाई उपस्थित गराउनै चाहनुहुन्न उहाँ ।’

आरोपितलाई यो अवस्थाका आधारमा संवेदनशील भएर छाड्दा सर्वसाधारण र पीडितले ‘पैसा खाएर छाडेको’ भन्न सक्छन् । ‘धेरै गाह्रो छ नि, माया मात्रै लागेर हुँदैन,’ मिश्रले भने, ‘त्यही पनि उहाँको पति आएको खण्डमा उहाँलाई छोड्ने योजना नै हो । पत्नीको साच्चै माया लाग्ने र गल्ती नै नगरेको भए ती महिलाको पति पक्कै आउँथ्यो ।’ महिलालाई माया नै गरेर छोडिदिएको खण्डमा पतिपत्नी नै भारततिर गए भने कसलाई समात्ने भन्ने द्विविधामा प्रहरी रहेको मिश्रले बताए ।

‘यसरी पीडकलाई नै माया गरेर छोडिदिएको खण्डमा पीडितलाई न्याय कसरी दिने हो र ? त्यहीमाथि उहाँका पति आएको खण्डामा ती महिलालाई छोडिदिने हाम्रो योजना छ । उहाँले पतिलाई बोलाउँनै चाहनु हुन्न,’ एसपी मिश्रले भने । नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा मानव बेचबिखन अनुसान्धान ब्युरोले काठमाडौं महानगरपालिका–७ बाट ती सुत्केरी महिलालाई पक्राउ गरेको हो ।

विभिन्न आर्थिक प्रलोभन देखाएर रेस्टुरेन्टमा वेटरको काम भन्दै नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा उनी लगायत दुई जना महिलालाई दुई साताअघि ब्युरोले पक्राउ गरेको थियो । तर यस कार्यमा आफू संलग्न नभएको दाबी ती महिलाले गरिन् । ‘हामीले त्यस्तो काम लगाएका छैनौं,’ उनले भनिन्, ‘ती नानी आफैं काम खोज्दै आएका थिए । उनीहरू रेस्टुरेन्टमा सम्पूर्ण काम र मेरो बच्चासमेत हेर्ने भन्दै तयार भएका थिए । दशा बाजा बजाएर आउँदैन भन्थे हो रहेछ, आज यस्तो आरोप लाग्नुरहेछ ।’

आरोपित महिलाको दाबी अनुसार नाबालिकालाई परामर्श र सहायत दिने विभिन्न संघसंस्थाले नै नाबालिकालाई उस्काएर तथा अन्य प्रलोभनमा पारेर उजुरी दिन लगाउँछन् । त्यति मात्रै नभएर उजुरी दिएमा क्षतिपूर्तिसम्म पाउने आश्वासन दिइन्छ । यसरी विभिन्न संघसंस्थाले नचाहिने धेरै कुरा सिकाउँदा आफूहरूजस्तो नेपालमै व्यवसाय गरेर रोजगार प्रदान गर्ने सोझासाझालाई मार पर्ने गरेको छ ।

सिर्जनाको खाजाघरबाट तीन पीडित नाबालिकालाई दैनिक पाँचदेखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेको आरोपमा उनी पक्राउ परेकी हुन् । रेस्टुरेन्टमा आएका ग्राहकसँग शारीरिक सम्पर्क राखेबापत आधा रकम दिने भनिए पनि त्यो पनि नदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आर्थिक अवस्थाले कमजोर अवस्थामा रहेका बालिकालाई विभिन्न प्रलोभन देखाएर जबरजस्ती यौन व्यवसायमा लगाएको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो । उक्त सूचनाको आधारमा खटिएको ब्युरोको टोलीले तिनको उद्धार गरेको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतवार ०९:४०

लोकप्रिय