सूचनाको शक्ति - The Power Of Information

        

पूर्वाधार निर्माणपछि पर्यटकको रोजाइमा ‘सुन्दरचौर उद्यान’

स्याङ्जाको भीरकोट–६ स्थित पहाडको थुम्कोमा रहेको छ ‘सुन्दरचौर उद्यान’ । पछिल्लो समय उक्त उद्यान बजारको कोलाहल र प्रदूषणलाई छल्दै रमणीय, शान्त वातावरणमा आनन्दित हुने ठाउँको रुपमा विकसित हुँदै गरेको छ । पूर्वाधार निर्माणले तीव्रता पाएपछि यो उद्यान पर्यटकको रोजाइमा पर्न थालेको हो ।

यहाँ पूर्वाधार निर्माणको काम जारी छ । आन्तरिक तथा बाह्य पर्यटकको सेवा र सुविधालाई ध्यानमा राखेर उद्यानमा पूर्वाधार थप्ने काम भइरहेको छ । पहिला सुन्दरचौरलाई वनस्पति उद्यान केन्द्रका रुपमा विकास गरिएको थियो । पछिल्लो समय सुन्दरचौर उद्यानमा पूर्वाधार निर्माण भइरहेका भीरकोट–६ का वडाध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले बताए ।

उद्यानलाई व्यवस्थित गर्न चालु आर्थिक वर्ष २०८०–८१ मा वडा कार्यालयबाट रु १० लाख, डिभिजन वन कार्यालय स्याङ्जाबाट रु पाँच लाख, भीरकोट नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु तीन लाख दश हजार तथा पर्यटन बोर्ड पोखराबाट रु दुई लाख प्राप्त भएको उनले बताए ।

पर्यटकीय स्थलसम्म सहजरुपमा पुग्नका लागि भीरकोट–६ को पाटपाटीदेखि उद्यानसम्म रु ५४ लाखको लागतमा सडक ढलान भइरहेको छ । वडा कार्यालय भण्डारखोलादेखि उद्यानसम्म पुग्न पक्की पदमार्ग बनाइएको छ । वनस्पति उद्यान केन्द्र हुँदादेखिका संरचना, बोटबिरुवाको संरक्षण र सम्वद्र्धन गर्दै नयाँ संरचना पनि निर्माण भइरहेको वडाध्यक्ष क्षेत्रीले बताए ।

उनले भने, ‘यहाँ आउने पर्यटकको सुविधालाई मध्यनजर गरी पूर्वाधार निर्माण गरेपछि पर्यटकको रोजाइको रुपमा यो ठाउँले पहिचान बनाउन थाल्यो ।’ वनस्पति उद्यान केन्द्रदेखि हालको पार्कको अवस्थासम्म आइपुग्दा सौन्दर्यकरणका दृष्टिले पूर्वाधार र मनोरञ्जनका सामग्री थप गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।

उद्यान परिसरमा अवलोकन टावर, पानी पोखरी, गोलघर, पक्की पदमार्ग, प्रवेशद्वार, कार्यालय भवन, वनभोजका लागि दुई वटा ट्रष्ट, सेल्फी स्पट, गैँडाको प्रतिमा, बाल उद्यानका सामग्री, पार्क परिसरलाई छेकबार, तारजाली, विभिन्न जातिका फूल तथा बोटबिरुवाले पर्यटकलाई आकिर्षत गरेको छ ।

उद्यानलाई वनभोजस्थलका रुपमा विकास गर्दै आम्दानीसँग जोड्ने लक्ष्यसहित अगाडि बढेको वडाध्यक्ष क्षेत्रीले बताए । ‘उद्यान घुम्न आउनेसँग रु २० प्रवेश शुल्क लिन्छौँ,’ उनले भने । वनभोजका लागि आउने समूहलाई भाडावर्तन, ग्यास लगायतका सामग्री उपलब्ध गराएबापत रु तीन हजारदेखि रु तीन हजार ५०० शुल्क लिने गरिएको छ ।

वनभोज तथा अवलोकन गर्न आउने पर्यटकबाट लिइएको प्रवेश शुल्क मासिकरुपमा खातामा जम्मा गर्ने गरिएको छ । यसबाट मासिक रु १० हजारदेखि रु १५ हजारसम्म आम्दानी हुँदै आएको छ । डाँडाको थुम्कोमा रहेको उद्यान पुग्दा छुट्टै आनन्द आएको यहाँ घुम्न आएका वालिङ–१३ का बबिन पाठकले बताए । उद्यान परिसरबाट नागबेलीरुपमा बगेको आँधीखोला र त्यसले बनाएको फाँट, बयरघारी लगायतका स्थान देख्न सकिन्छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार १०:४८

लोकप्रिय