सूचनाको शक्ति - The Power Of Information

        

कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

राती कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ । विभागका अनुसार ललितपुरको खुमलटारमा सबैभन्दा धेरै वर्षा भएको छ । मौसमविद् लामिछानेका अनुसार खुमलटारमा ३०.७ मिलिमिटर वर्षा भएको छ । कीर्तिपुरमा १२.२, बबरमहलमा ७.६, बूढानीलकण्ठमा २.४ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार ०७:४२

लोकप्रिय