सूचनाको शक्ति - The Power Of Information

        

आइजीपी हुने भूत सवार भएपछि मन्त्री क्वार्टरमै एआइजीको धर्ना !

घर जाने दिन नजिँकिदै गर्दा पनि नेपाल प्रहरीका एक एआइजीलाई अझै आइजीपी हुने भूत सवार भइरहेको छ । नक्कली भुटानी शरणार्थीको अनुसन्धान गरेर चर्चामा आउनुअघि नै प्रधानमन्त्री प्रचण्डकी सुपुत्री गंगा दाहालमार्फत किचन क्याबिनेटभित्र पहुँच पुर्याउन सफल भएका एआइजी श्याम ज्ञवालीलाई अवकाशको दुई महिना अघिसम्म पनि आईजीपी हुने भूत सवार भएको बताइएको छ ।

स्रोतका अनुसार त्यसका लागि उनले गृहमन्त्री रवि लामिछानेलाई रिझाउन हर कोशिश गरेका छन् । वैशाख १५–१६ मा आइजीपी विदेश भ्रमणमा रहेका बेला एआइजीद्वय टेकप्रसाद राई र दीपक थापासहित बालकोट पुगेका एआइजी ज्ञवालीलाई बालकोटमा गेट लागेको थियो । एआइजी ज्ञवाली बालकोटमा जाँदा उनलाई केपी ओलीले भेट नै दिएनन् । तर दीपक थापा र राईले भने नेपाल प्रहरीको वर्तमान अवस्थाबारे ब्रिफिङ गरेको बालकोट निकट स्रोतको भनाइ छ ।

ज्ञवालीलाई बालकोटले रातो बत्ति बालेपछि अहिले दिनहुँजसो उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको क्वार्टरमा पुग्ने गरेको मिडियामा सार्वजनिक भइरहेको छ । भदौ २६ गते उनी उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि उनी अहिलेका आइजीपी वसन्त कुँवरलाई हटाएर केही समय आइजीपी हुन चाहिरहेको प्रहरी प्रधान कार्यालयमा चर्चा हुने गरेको छ । उनी आइजीपी कुँवरलाई थाहै नदिई दैनिक गृहमन्त्रीको कार्यकक्ष र निवासमा पुग्ने गरेको बताइन्छ ।

सीआइबीले कुनै पनि मुद्दाको अनुसन्धान र दर्ता गर्ने कि नगर्ने भनेर तोक आदेश आइजीपीबाट लिने हो । तर सीआइबीले कोही कसैलाई पक्राउ गर्नुपर्यो भने पनि आइजीपीलाई वा आइजीपीको सचिवालयलाई जानकारी हुन जरुरी हुन्छ । तर ज्ञवालीले यो विषयलाई वेवास्ता गर्दै सिधै गृहमन्त्रीसँग भेटघाट र सल्लाह दिने तथा निर्देशन लिने काम गरिरहेको दावी पनि मुख्यालयस्थित हाम्रो समाचार स्रोतको छ ।

स्रोतका अनुसार अहिले गृहमन्त्री र आइजीपीको सम्बन्धमा हल्का दरार उत्पन्न भएको छ । सूर्यदर्शन सहकारीको विषयलाई लिएर उनीहरूबीच हल्का दरार उत्पन्न भएको हो । अझ एआइजी ज्ञवालीलाई मन्त्रीको चेम्बरमा भेटेपछि त झन आईजीपी गृह मन्त्रालय जानै छाडेका छन् । पोखरास्थित सूर्यदर्शन सहकारीको ठगी विषयमा गृहमन्त्रीविरुद्ध परेको जाहेरीको बारेमा जानकारी नदिएको भन्दै लामिछाने आइजीपीसँग रिसाएका थिए ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएर विचाराधीन रहेको जाहेरी सर्वोच्च अदालतले झिकाउन माग गरेपछि उनीविरुद्ध परेको पूरक उजुरी बाहिर आएको थियो । गत आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको सुनुवाइपछि अदालतले उत्प्रेषण परमादेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको पत्र र कास्की प्रहरीमा दर्ता भएको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपि झिकाउन भनेको थियो । आदेशमा यो विषय चाँडो टुंगो लगाउनुपर्ने प्रकृतिको देखिएको र आगामी जेठ २८ गते अन्तरिम आदेश छलफल हुने मिति तोकिएको छ ।

‘द.नं.०८०-८१-०४२६-१२९ मिति २०८०/१०/२२ को जाहेरी बेहोराको थप परीक्षण गरी दुवै पक्षलाई छलफलमा राखेर मात्र अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने निष्कर्षमा पुग्न मनासिव हुने देखिएको र प्रस्तुत विषय चाँडो टुङ्गो लाग्नुपर्ने प्रकृतिको देखिँदा प्रस्तुत विषयको सुनुवाईलाई अग्राधिकार दिई मिति २०८१/०२/२८ गतेका लागि अन्तरिम आदेश छलफल हुने मिति तोकी उक्त मितिमा महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको च नं ३२७५ मिति २०८१/०१/२४ को पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा पेश गरिएको भनिएको ठगी सम्बन्धी कसुरको द.नं.०८०-८१-०४२६/१२९ मिति २०८०/१०/२२ मा दर्ता भएको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुन सो बेहोराको सूचना विपक्षीहरूलाई दिई नियमानुसार पेश गर्नु,’ भनिएको छ ।

सर्वोच्चले झिकाएको उक्त जाहेरीमा पहिलो नम्बरमै गृहमन्त्री लामिछानेको नाम उल्लेख गरिएको छ । जाहेरीमा पहिलो नम्बरमा लालचन्द्र लामिछानेका छोरा रवि लामिछाने (गोर्खा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक) भनी सहकारी ऐन र ठगीमा मुद्दा दायर हुनुपर्ने भनी उल्लेख गरेका छन् । पीडितहरूको जाहेरीको दोस्रो नम्बरमा ज्ञानबहादुर बमजन, नेत्रपाणी बाँस्तोला, नन्दकिशोर पुनका छोरा दीपेश पुन र पाँचौँ नम्बरमा गोर्खा मिडिया प्रालिको नाम उल्लेख गरिएको छ ।

उनीहरुले २०८० माघ २२ गते उक्त जाहेरी दर्ता गरेका थिए । उक्त जाहेरीपछि चौथो नम्बरमा रहेका दीपेश पुनसहितलाई मुद्दा दायर गरियो भने पहिलो नम्बरमै नाम उल्लेख भएका गृहमन्त्री लामिछानेलाई उन्मुक्ति दिइएको थियो । यसरी सहकारीको रकम विभिन्न १८ वटा कम्पनीमा गैरकानुनी रूपमा स्थानान्तरण गरिएको दाबी जाहेरीमा गरिएको छ । नेचर हर्बल, नेचर नेष्ट प्रालि, जीवी ग्रुप अफ कम्पनी, गोर्खा आयुर्वेद लगायतका कम्पनीमा स्थानान्तरण गरिएको दाबी गरिएको छ । यी सबै कम्पनी जीवी राई र उनी निकट मानिसहरूको नाममा थियो ।

यही विषय बाहिर आएपछि गृहमन्त्री आईजीपीसँग रिसाएका थिए । मन्त्री र आइजीबीचको यही तिक्ततापूर्ण सम्बन्धको फाइदा उठाउँदै एआइजी ज्ञवालीले रविसँग विशेष सम्बन्ध विकास गरेको दावी सो स्रोतका छ । बुटवलको सुप्रिम सहकारीको प्रतिवेदन र कास्कीको सूर्यदर्शन सहकारीको पूरक जाहेरी बाहिरिएपछि आफूलाई जानकारी नगराएको भन्दै रवि चिसिएका थिए । आइजीपीसँग गृहमन्त्री चिसिएपछि ज्ञवालीले छायाँ आइजीपीको काम गर्दै आएको प्रहरी प्रधान कार्यालयभित्र चर्चा चलेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार १२:५५

लोकप्रिय