बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार ५०० राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार ४०० जना यार्सा सङ्कलनमा गएका छन् ।
उनीहरूबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष यहाँ यार्सा टिप्न करिब चार हजार मानिस आएका थिए । उनीहरूबाट ८५ लाख राजस्व सङ्कलन भएको थियो । तर यसपटक गत वर्षको तुलनामा यार्सा सङ्कलन र राजस्व दुवै बढेको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए ।
गत वर्षको तुलनामा यसपटक दोब्बर यार्सा सङ्कलककर्ता पाटन प्रवेश गरेको र राजस्व पनि गत वर्षको तुलनामा झण्डै ४१ लाख बढी सङ्कलन भएको उनले बताए । निकुञ्ज क्षेत्रभित्रका व्यक्तिलाई प्रतिव्यक्ति ५०० र निकुञ्जभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति दुई हजार र डोल्पाभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाएको छ ।
वरिष्ठ संरक्षण अधिकृत श्रेष्ठका अनुसार यार्सा गुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका, २०७३ बमोजिम कुल सङ्कलन भएको राजस्वमध्ये ३० देखि ५० प्रतिशत रकम निकुञ्ज क्षेत्रको सामुदायिक विकासमा खर्च गरिनेछ । कार्यालयले यार्सा सङ्कलक र राजस्वको विस्तृत विवरणअनुसार डोल्पाको तोइजम क्षेत्रबाट एक हजार ५०० यार्सा सङ्कलक पाटन प्रवेश गरेको र त्यहाँबाट १५ लाख राजस्व सङ्कलन भएको छ ।
यसैगरी, मुगुको मुगुमा कार्मारोङ गाउँपालिकाको डोल्फू क्षेत्रबाट एक सयजना यार्सा सङ्कलक पाटन प्रवेश गर्दा एक लाख ९४ हजार, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रको मुख्य कार्यालय क्षेत्रबाट गएका दुई हजार ४१ जना यार्सा सङ्कलकबाट २९ लाख ७४ हजार ५०० राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ ।
डोल्पाको क्षेप्का क्षेत्रबाट गएका ४७३ जना सङ्कलकबाट तीन लाख ७९ हजार राजस्व असुली भएको छ । फोक्सुण्डो तालको रिम्मु क्षेत्रबाट १०३ जना सङ्कलक पाटन प्रवेश गरेका र उनीहरूबाट एक लाख ७७ हजार राजस्व उठेको छ । डोल्पाको त्रिपुरा क्षेत्रबाट ४५० यार्सा सङ्कलक पाटनतर्फ जाँदा दुई लाख ५५ हजार राजस्व सङ्कलन भएको छ ।
त्यसैगरी डोल्पाको दोरेन्जपोष्टबाट दुई हजार ७०० जना यार्सा सङ्कलक पाटन गएका र उनीहरूबाट ७० लाख ३७ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । डोल्पाका ३२ स्थानमा यार्सा पाइने गरेको छ । मुगुको तुलनामा डोल्पाबाट बढी राजस्व सङ्कलन हुने गरेको छ । डोल्पाको पाटन क्षेत्रमा यार्सा टिप्न सात जिल्लाका स्थानीय जाने गरेका छन् ।
मुगुको कार्मारोङ गाउँपालिकामा यसपटक यार्सा सङ्कलकबाट ६९ लाख ५२ हजार ५०० राजस्व सङ्कलन भएको छ । अझै पनि सङ्कलकहरू आउने क्रम जारी रहेकाले राजस्व रकम बढ्ने छ । गत वर्ष यार्सा सङ्कलकबाट ४६ लाख राजस्व सङ्कलन भएको र यसपटक ६९ लाख ५२ हजार ५०० जम्मा भइसकेको गाउँपालिकाले जनाएको छ ।
यार्सा राजस्व सङ्कलन टोली प्रमुख महेशबहादुर मल्लले यार्सा टिप्न पाटन जाने जिल्ला बाहिरकालाई प्रतिव्यक्ति दुई हजार ५०० र जिल्लाभित्रकालाई प्रतिव्यक्ति दुई हजारका दरले प्रवेश शुल्क लिइएको बताए । यसपटक यार्साबाट करिब ७० लाख राजस्व सङ्कलन हुने अनुमान गरिएको उनले बताए ।
कोरोना महामारीका कारण चार वर्षसम्म यार्साबाट राजस्व उठेको थिएन । गत वर्ष भने ४६ लाख राजस्व सङ्कलन भएको थियो । मुगुमा कार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठूलोकोइकी, रिमार, टाँके, हाङदाङ खोला लगायत सात स्थानबाट यार्सा सङ्कलन हुने गरेको छ । करिब चार हजार पाँच सय जना यार्सा खोज्न पाटनमा आएको मुगुमा कार्मारोङ गाउँपालिका–२ का वडाध्यक्ष च्यावा लामाले बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कर्णाली