सूचनाको शक्ति - The Power Of Information

        

चापाकोट महोत्सवको हिसाबकिताब खोई ? हिनामिना भएको आशङ्का

दोश्रो संस्करणको चापाकोट महोत्सव भएको तीन महिना बितिसक्यो । महोत्सव सकिएको ३५ दिनभित्र आम्दानी र खर्च सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको उद्योग वाणिज्य संघ चापाकोटले अझै हिसाबकिताब सार्वजनिक गर्न सकेको छैन । महोत्सवबाट उठेको रकम नेतृत्वले हिनामिना गरेको आशङ्का गरिएको छ ।

२०८० फागुन ३ गतेदेखि १३ गतेसम्म चापाकोट महोत्सव आयोजना गरिएको थियो । आर्थिक बर्ष नै परिवर्तन हुने बेलासम्म पनि हिसाबकिताब सार्वजनिक नहुँदा केही कार्यसमिति सदस्यले आर्थिक अनियमितताको आशङ्का गरेका छन् । पटकपटक ताकेता गर्दा पनि नेतृत्वले महोत्सवको आम्दानी र खर्च सार्वजनिक गर्न तत्परता नदेखाएको उनीहरु बताउँछन् ।

चापाकोट उद्योग वाणिज्य संघका सूचना तथा सञ्चार संयोजक गोपीकृष्ण रेग्मीले होटल, छपाई, ब्यवस्थापन खर्च तिरेको भए पनि उठ्नुपर्ने रकम र ठेकेदारबाट पाउनुपर्ने रकम पाउन बाँकी भएको रकम केहि समयमा उठ्ने र समितिको मिटिङ्ग र माइन्युट गरि सबै सर्बजनिक गर्ने तयारीमा रहेको बताए ।

विभिन्न उपसमितिको नेतृत्व गरेका पदाधिकारीले नै आम्दानी र खर्चको हिसाबकिताब नपाएको कार्यसमितिका एक सदस्यले बताए । ‘सिडिओसँग महोत्सव गर्न अनुमति लिँदा तीन महिनाभित्र हिसाबकिताब सार्वजनिक गर्छौं भनिएको थियो, तर अहिलेसम्म नेतृत्वले हिसाबकिताब देखाउन सकेको छैन,’ उनले भने, ‘बुक क्लोज भइसक्यो भन्ने कुरामात्रै आउँछ, अरु आउँदैन ।’

केहिसमय अघि बसेको कार्यसमिति बैठकमा पनि समितिका सदस्यले हिसाबकिताब सार्वजनिक गर्न माग गरेका थिए । नेतृत्वले ‘बुक क्लोज’ भइसकेर सार्वजनिक गर्ने तयारी गरिरहेको भन्ने पुरानै आश्वासन दियो । आर्थिक अनियमितताको आशङ्का गरिएकाले हरेक खर्चको विवरण आफूहरुले माग गर्ने उनले बताए ।

महोत्सवबाट कमसेकम ३० लाख रूपैयाँ मुनाफा भएको उनको अनुमान छ । संघका पूर्व कार्य समितिका एक जना सदस्यले महोत्सव सकिएको तीन महिनासम्म पनि आम्दानी र खर्चको हिसाबकिताब सार्वजनिक नहुनु गलत भएको बताए । ३५ दिनभित्र हिसाब फरफार गर्नुपर्नेमा तीन महिना भइसक्दा पनि सार्वजनिक नहुनु ठीक नभएको उनले बताए ।

‘३५ दिनभित्रै हिसाब फरफार हुनुपथ्र्यो । हुन नसक्नु राम्रो कुरा होइन,’ नाम नबताउने शर्तमा उनले भने, ‘अझै पनि जतिसक्दो छिटो आए हुन्थ्यो । पूर्व कार्यसमिति सदस्यको हैसियतले भन्दा अहिले ठीक भइरहेको छैन ।’ हिसाबकिताब सार्वजनिक गर्न ढिलाइ हुँदा संस्थाप्रति नै औँला ठडिने वातावरण बनेको उनले बताए ।

हिसाबकिताव छिटो सार्वजनिक गर्न आफूले ताकेता गरिरहेको भन्दै उनले आर्थिक वर्ष नै परिवर्तन हुने बेलासम्म पनि त्यो नहुनु गलत भएको दोहोर्याए । संघका कार्य समितिका एक जना सदस्यले नयाँ आर्थिक बर्ष अगाडि नै महोत्सवको हिसाबकिताव सार्वजनिक हुने बताएका थिए ।

उनले भनेका थिए, ‘अडिट भइसकेको छ । सबै ठाउँमा बुझाई सकिएको छ । अब छिटोभन्दा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भनेका छौँ ।’ प्रायोजक, स्थानीय सरकार लगायतका ठाउँबाट प्राप्त हुनुपर्ने रकम प्राप्त नहुँदा हिसाबकिताव सार्वजनिक गर्न केही ढिलो भएको उनले बताए । तर कहिलेसम्म सार्वजनीक हुन्छ भन्ने उनले बताउन चाहेनन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार १२:१७

लोकप्रिय