सूचनाको शक्ति - The Power Of Information

        

एउटै विवादमा रथीलाई उन्मुक्ति, कर्णेललाई ‘नजरबन्द’

नेपाली सेनाका महासेनानी दीरेन्द्रकुमार मल्ललाई अमेरिकाबाट नेपाल फिर्ता बोलाइएको छ । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ललाई सेनाले यसैसाता अमेरिकाबाट नेपाल फिर्ता बोलाएको हो ।

चार महिनाअघि मात्र सैनिक सल्लाहकारको रुपमा न्युयोर्क पुगेका मल्ललाई आइतबार नेपाल फिर्ता बोलाएर मुख्यालयमा हाजिर गराई कसैसँग भेटघाट नगर्न निर्देशन दिइएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई न्युयोर्कबाट फिर्ता बोलाएर सैनिक मुख्यालयमा हाजिर गराइएको हो । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा प्रश्न गर्दै कोही कसैले उजुरी गरेका कारण उनलाई न्युयोर्कबाट नेपाल झिकाइएको हो । तर यस्तै प्रकृतिको विवादमा एक रथीले उन्मुक्ति पाइरहेका छन् ।

उनलाई भने प्रधानसेनापतिले न्युयोर्कबाट झिकाएर छानवीन गर्ने भन्दै एक प्रकारले नजरबन्दमा राखेका छन् । ४५ औं प्रधानसेनापतिको रोल क्रममा रहेका अशोकराज सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा कीर्ते गरेर जन्म मिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भए पनि उनलाई भने उन्मुक्ति दिइएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले रिक्त रथी दरबन्दीमा वरिष्ठताका आधारमा सिग्देललाई रथी बनाइसकेका छन् । गत मंसिर ४ गते परेको उजुरीबारे छानबिन गरेर जानकारी गराउन अख्तियारले केही दिन अघि मात्रै रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

वास्तविक जन्ममिति २०२१ साल चैत १९ गते भएका सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा २०२३ माघ १९ गते बनाएको जंगी अड्डा स्रोतले जनाएको छ । २०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ ।

२०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल’ उल्लेख छ । उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिंदा कीर्ते गरेको स्रोतको दाबी छ । सिग्देलले निवेदन दिएपछि २०४३ साउन ३१ गते जन्ममिति परिवर्तन गरिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको चलानी नम्बर १४६७ को पत्रमा उल्लेख छ ।

त्यस्तै, २०७६ साउन ३० गते त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उल्लिखित जन्ममिति २०२१ चैत १९ लाई केरमेट गरेर २०२३ माघ १९ गते बनाएको विषयमा अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख छ । सिग्देलले एसएलसीको प्रमाणपत्रको प्रतिलिपि १२ नोभेम्बर २०१८ र १३ नोभेम्बर २०१८ मा लिएको देखिन्छ । त्यस्तै, त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेसन कार्डको प्रतिलिपि १५ अगस्ट २०१९ मा लिएको देखिन्छ ।

प्रमाणपत्र कीर्ते गरेको विवादपछि प्रधानसेनापतिको रोल क्रममा रहेका रथी ताराध्वज पाण्डेले कात्तिक २४ गते पदबाट राजीनामा दिएका थिए । सरकारले पाण्डेको राजीनामा स्वीकृत गरिसकेको छ । उपरथी पाण्डेको जन्ममिति विवाद आउँदा पनि शुरूमा जंगी अड्डाले प्रतिरक्षा गर्दै विज्ञप्ति निकालेको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार १२:०४

लोकप्रिय