नेपालगन्ज उपमहानगरपालिकाले सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना भत्काउन सुरु गरेको छ । नेपालगन्ज–९ खटकनपूर्वामा सरकारी जमिन अतिक्रमण गरी बनेका घरटहरा भत्काउन उपमहानगरले बिहीबार दिउँसो डोजर चलाएको छ ।
घरटहरा हटाउन एक महिनाको सूचना टाँस गर्दा पनि बेवास्ता गरेकाले भत्काउन बाध्य भएको नेपालगन्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले बताए । ‘अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेकाले आज डोजर लगाउन बाध्य भएका छौँ,’ उनले भने ।
अतिक्रमण हटाएर सरकारी जग्गाको संरक्षण गर्ने कार्यमा स्थानीयले पनि सहयोग गरिरहेको वडाध्यक्ष रेग्मीले बताए । नेपालगन्ज उपमहानगरपालिका–९ का विभिन्न क्षेत्रमा रहेका सरकारी जग्गा तारबार गरी संरक्षण गर्दै आएको वडाध्यक्ष रेग्मीको भनाइ छ ।
यसअघि नेपालगन्जका विभिन्न ठाउँमा नाला र सडक अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएको सडकपेटी तथा सरकारी जग्गा खाली गराउन डोजर लगाइएको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट आफैँ डोजर लिएर अतिक्रमण गरी बनाइएका संरचना हटाउन निस्किएका थिए ।
नेपालगन्जका अधिकांश ठाउँमा सडकपेटी अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएकाले सर्वसाधारण र सवारीसाधन आवागमनमा समस्या भएको छ । यस्ता अतिक्रमण हटाउन नगर प्रमुख विष्ट आफैँ अगाडि सरेका हुन् ।
सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, पसल व्यापार चलाउने काम नरोकिएपछि बाध्य भएर त्यस्ता संरचना हटाउन आफैँ डोजर लिएर बजारमा निस्किएको विष्टले बताए । नेपालगन्जलाई सफा, सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्न यो अभियान सुरु गरिएको उनको भनाइ छ ।
सडकपेटी कब्जा गरी बजार व्यवसाय सञ्चालन गर्दा सर्वसाधारण नागरिकलाई हिँडडुल गर्न र सवारी चलाउन गाह्रो भएपछि त्यसलाई व्यवस्थित गर्न यस्तो काम सुरु गरिएको उनले बताए । बजारलाई सुन्दर र व्यवस्थित बनाउन अतिक्रमण हटाउन थालिएको नगर प्रमुख विष्टको भनाइ छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके