परम्परागत खेती गरेर जीविकोपार्जन गर्न समस्या भएपछि व्यवसायिक तरकारी खेती सुरु गरेका बाँके बैजनाथ गाउँपालिकाका किसानले तरकारी खेतीबाटै वार्षिक पाँच लाखसम्म आम्दानी गरिरहेका छन् । थोरै लगानीमा धेरै आम्दानी हुन थालेपछि सो गाउँपालिकाका किसानहरु तरकारी खेतीतर्फ आकर्षित हुँदै खेती गर्ने बढ्दै गएका छन् ।
मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर अहिले वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको कोहलपुर नगरपालिका १ कौशिलानगर घर भई बैजनाथमा तरकारी खेती गरेका दन्तेराम जैसीले बताए । बैजनाथ गाउँपालिका–१ मा जमिन भाडामा लिएर तरकारी खेती गरिरहेका किसान जैसीले अहिले पाँच बिघा जमिनमा तरकारी खेती गरिरहेका छन् ।
सुरुमा दुई लाख रुपैयाँको लगानीमा तरकारी खेती सुरु गरेका जैसीले सुरुवातमा निकै दुःख भोग्नुपरेको सुनाउँदै तर अहिले वार्षिक पाँच लाखभन्दा बढी आम्दानी भइरहेको बताए । तरकारी खेतीबाट आम्दानी बढ्दै गएपछि पाँच वर्ष यता बैजनाथ गाउँपालिकाका गाउँ गाउँमा व्यावसायिक रुपमा तरकारी खेती गरिँदै आएको छ ।
कृषिको क्षेत्रमा काम गर्ने सामाजिक सङ्घ संस्थाले जनचेतनामूलक कार्यक्रम तथा सहयोग गर्न थालेपछि किसानहरु व्यावसायिक तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । सुरुमा कहिले तरकारी खपत नहुने, कहिले कुहिने त कहिले जिल्ला बाहिरबाट आउने तरकारीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा धेरै दुःख खेप्नुपरेको किसान जैसीको भनाइ छ ।
बैजनाथका धेरै किसानले जमिन भाडामा लिएर शुद्ध अर्गानिक तरकारी खेती गरेको सुनेपछि कृषि ज्ञान केन्द्र बाँकेले पनि प्राविधिक सहयोग गरेको बैजनाथ–१ का अर्का किसान खुशीराम थारुले बताए । तरकारी व्यवसायलाई जिल्लाकै नमुना बनाउने उद्देश्यले तरकारी खेतीमा लागेको थारुको भनाइ छ । अहिले वार्षिक करिब पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले पनि बताए ।
मौसमी र बेमौसमी तरकारी गरी १२ प्रकारका तरकारी आफ्नो बारीमा फलाउने गरेको बताउँदै थारुले मौसमले साथ दिएमा सोचेभन्दा पनि राम्रो आम्दानी हुने बताए । सानोतिनो जागिर, व्यापार व्यवसायभन्दा कृषि पेशा राम्रो रहेको आम्दानीबाट पुष्टि भएको बैजनाथकै अर्का किसान दिनेश चौधरीले बताए ।
उनले तीन वर्षअघि दुई लाखको लगानीमा व्यावसायिक तरकारी खेती सुरु गरेको जनाउँदै अहिले निकै राम्रो आम्दानी भइरहेको बताए । चौधरीले बैजनाथ गाउँपालिकाको राजीपुरमा दुई बिघा र तीन बिघा चिसापानीमा भाडा लिएर तरकारीखेती गर्दै आएका छन् । उनले पाँच जनालाई रोजगारी दिएक छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके