२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

सापटी ऋणबाट मुक्त हुन छिमेकीको हत्या

सत्यपाटीसत्यपाटी । दोलखा । २०८१ जेठ २५ गते शुक्रबार

सापटी रकम तिर्नबाट मुक्त हुन दोलखाका एक व्यक्तिले आफ्नै छिमेकीको हत्या गरेका छन् । सापटी दिएको रकम फिर्ता माग्दा भीमेश्वर नगरपालिका १ मा एक वृद्धको हत्या भएको खुलेको हो । एक वर्षअघि छिमेकी ५२ वर्षीय गणेश घिमिरेलाई स्थानीय ७७ वर्षीय झिलकबहादुर विश्वकर्माले दुई लाख सापटी दिएका थिए ।

सोही रकम माग्दा उनको छिमेकी घिमिरेले हत्या गरेको पाइएको अनुसन्धानमा खटिएको प्रहरीले जानकारी दिएको छ । घिमिरेले लिएको सापटी रकम फर्काउन आनाकानी गर्दै आइरहेका थिए । घिमिरेले गएको जेठ १७ गते बिहान विश्वकर्मा घर नजिकैको एकान्त गोरेटोमा एक्लै हिंडेका मौकामा पछाडिबाट हथौडाले हानेर हत्या गरेको अनुसन्धानमा देखिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

ऋणबाट मुक्त हुन छिमेकी घिमिरेले देवाली पूजा मनाउन घर आएका बेला हत्या गरेको प्रारम्भिक बयानमा खुलेको प्रनाउ खड्काले जानकारी दिए । खड्काले भने, ‘हत्या गरेर उनले विश्वकर्माको शव तीन कान्लामुनि लगेर ढुङ्गाले घाँटीमा किचेको अवस्थामा दुई दिन पछि भेटेका थियौं ।’ हत्या लगत्तै परिवारलाई समेत जानकारी नदिई उनी गाउँबाट काठमाडौं फरार भएका थिए । उनलाई काठमाडौं प्रहरीको सहयोगमा पक्राउ गरेर दोलखा ल्याइएको प्रहरी नायव उपरीक्षक खड्काले बताएका छन् ।

प्रकाशित मिति : २०८१ जेठ २५ गते शुक्रबार