सूचनाको शक्ति - The Power Of Information

        

भारतमा तेस्रो पटक प्रधानमन्त्री बन्दै नरेन्द्र मोदी

भारतमा लोकसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । मत परिणाम अनुसार भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ । १८औं लोकसभामा भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेसँगै मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका हुन् ।

भाजपा एक्लैले बहुमत हासिल गर्न भने असफल भएको छ । भाजपाले मात्रै जितेको सिट संख्या २४० छ भने कांग्रेस एक्लैले ९९ र समाजवादी पार्टी (सपा)ले ३७ सिट जितेका छन् । त्रिणमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेको छ । लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जितेको छ ।

बहुमतका लागि २७२ सिट जित्नुपर्ने भए पनि कुनै पनि दलले एकल बहुमत हासिल गर्न सकेनन् । यद्यपि, भाजपा सबैभन्दा ठूलो दल बनेकाले उसैको नेतृत्वमा गठबन्धन सरकार बन्नेछ । सरकारको नेतृत्व भने भाजपाका नेता नरेन्द्र मोदीले नै गर्ने छन् । मोदीले सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने बताएका हुन् । ‘सन् २०२४ मा जनताले नरेन्द्र मोदीलाई आशिर्वाद दिएका छन् । नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ नड्डाले भनेका छन् । मोदी भारतमा लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने दोस्रो नेता हुन् । यसअघि यस्तो रेकर्ड जवाहर लाल नेहरुको नाममा छ ।

भाजपा नेता एवम् हालका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रोपटक पनि बहुमत दिएको भन्दै जनतासँग आभार प्रकट गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘देशका जनता जनार्दनले एनडीएमाथि लगातार तेस्रो बार आफ्नो विश्वास व्यक्त गरेका छन् । भारतको इतिहासमा यो अभूतपूर्व क्षण हो । म देशवासीलाई यो विश्वास दिलाउँछु कि उनीहरुको आकांक्षा पूरा गर्नका लागि नयाँ ऊर्जा, नयाँ उमंग र नयाँ संकल्पका साथ अघि बढ्नेछौं ।’

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ०९:१३

लोकप्रिय