सूचनाको शक्ति - The Power Of Information

        

विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध कहाँ चुक्यो नेपाल ?

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपमा नेपालले हारबाट सुरु सुरुवात गरेको छ । गएराति सम्पन्न पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६ विकेटको पराजय बेहोर्दै नेपालले खराब सुरुवात गरेको हो । १० वर्षपछि विश्वकप खेल्न लागेको नेपालले पहिलो खेलमा ब्याटिङ र फिल्डिङमा साधारण प्रदर्शन गर्यो ।

नेपाली फिल्डरले पटक–पटक क्याच छोड्दाको फाइदा डच टिमले उठायो । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसलाई अन्तिम ३ ओभरमा जितका लागि १९ रनको खाँचो थियो । कसिलो बलिङ गरिरहेका नेपाली बलरविरुद्ध डच ब्याटरलाई गाह्रो भइरहेको थियो ।

त्यहीबीच १८ औँ ओभरमा सोमपाल कामीले म्याक्स ओडाउडलाई आउट गर्ने अवसर सिर्जन गरे । तर, कप्तान रोहितकुमार पौडेलले क्याच ड्रप गर्दा नेपाल खेलमा फर्किन सकेन । ओपनर ओडाउडले ४८ बलमा चार चौका र एक छक्कासहित अविजित ५४ रनको पारी खेले । उनी अन्तिमसम्म टिक्नु पनि नेपाल हारको करण बन्न पुग्यो । यस्तै, आठौँ ओभरमा अविनाश बोहराले विक्रमजित सिंहलाई क्याच आउट गर्ने मौका दिए ।

तर, सोमपाल कामीले ड्रप गर्दा नेदरल्याण्ड्सलाई थप दबाबमा राख्न सकेन । नेदरल्याण्ड्सको जितमा म्याक्स ओडाउडले ५४ सहित विक्रमजित सिंहले २२, साइब्रान्ड एंगेलब्रेचले १४ र बास डे लिडेले अविजित ११ रन बनाए । नेपालका लागि अविनाश बोहरा, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । त्यसअघि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा १०६ रनमा अलआउट भयो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३७ बलमा ५ चौकासहित सर्वाधिक ३५ रन बनाए । यस्तै, करण केसीले १७, गुलशन कुमार झाले १४ र अनिलकुमार साहले ११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेदरल्याण्ड्सका लागि टिम प्रिन्गल र लोगन भ्यान बिकले तीन–तीन तथा भ्यान मेकरम र बास डे लिडेले दुई–दुई विकेट लिए । नेपालले अब समूह ‘डी’ मा मा आफ्नो दोस्रो खेल १२ जुनमा श्रीलंकासँग खेल्ने तालिका छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ०८:२०

लोकप्रिय