‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ विश्वभर बुधबार विश्व वातावरण दिवस मनाइँदैछ । नेपालमा पनि देशव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदैछ । ‘हाम्रो भूमि’ अर्थात् पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुने सन्देश यो वर्षको नाराले दिन खोजेको छ ।
हरेक वर्ष जुन ५ मा मनाइने दिवस अन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणमा जोड दिइएको छ । दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका मानिसद्वारा सिर्जित विविध समस्याले पारेको असर न्यूनीकरण गर्दै वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै एक सन्देश जारी गरेका छन् ।
गुटेसरले भने, ‘मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दैछ ।’ उनले दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई रोक्ने आ–आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिएका छन् ।
तर, उनले विकासोन्मुख देशलाई ठूलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए । ‘त्यसका लागि हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठूलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ,’ महासचिव गुटेरेसले भनेका छन् ।
विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि हाम्रो भूमिका नगण्य भए तापनि नेपालले जलवायु परिवर्तनको असर भोग्दै आएको छ । जनजीविका र स्वस्थ्य प्राकृतिक वातावरणका लागि स्वस्थ जमिनको आवश्यकता पर्ने, बढ्दै गरेको मरुभूमीकरणलाई रोक्न थप प्रयास गर्नुपर्ने तथा खानेपानीको अभावलाई सम्बोधन गर्नुपर्ने विषयलाई यस वर्ष बढी महत्त्व दिइएको छ ।
संघ, प्रदेश र स्थानीय सरकारको साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था लगायत सबै सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सम्भव छ । यस सन्दर्भमा, दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं