सूचनाको शक्ति - The Power Of Information

        

मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रणमा

कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं ल्याउँदै गर्दा ती बालबालिकासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सुर्खेत प्रहरीले मानव तस्करीको आशंकामा ती बालबालिकालाई काठमाडौं ल्याउने कार्यमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकामध्ये १६ जना बालिका र १२ जना बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट बालबालिकासहित ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा परेका व्यक्ति नाम्गेल छिरिङ हुन् ।

उनले बौद्ध लगायतका उपत्यकामा रहेका गुम्बाहरुमा ती बालबालिकालाई परिवारको सहमतीमै राखेर उनीहरुको पालनपोषण र शिक्षादिक्षा दिने हेतु काठमाडौं लैजान लागेको दाबी गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लक्ष्मण शाहीले बताए ।

डीएसपी शाहीले भने, ‘बालबालिकाकालाई बौद्ध लगायतका काठमाडौंका गुम्बाहरुमा राखेर पढाउने, पालनपोषण गर्ने भनेर लैजान लागेको ती व्यक्तिले देखाएको काजगमा उल्लेख छ । तर, हामीलाई शंका लागेरै नियन्त्रणमा लिएर थप अनुसन्धान र परिवारसँग सोधपुछ गरिरहेका छौँ ।’

हालसम्मको अनुसन्धानको क्रममा मानव बेचबिखन भन्दा पनि आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई ललाईफकाई गरी ति बालबालिकाको जिम्मेवारी लिने भन्दै काठमाडौं लैजान लागिएको खुल्न आएको डीएसपी शाहीले जानकारी दिए । तर, शंकास्पद देखिएकाले थप अनुसन्धान गरिरहेको भनाई उनको छ ।

‘हुम्ला र मुगुका २८ जना बालिबालिकालाई परिवारका सदस्यकै सहमतिमा पठाइएको देखिएको छ । दुई बाहेक २६ वटा स्थानीय तहका वडा कार्यालयले दिएको निवेदन उक्त व्यक्तिसँग छ तर आवश्यक थप कागजपत्र नाम्गेल छिरिङसँग छैन । उनीहरुलाई नियन्त्रणमा लिएपछि परिवारका सदस्यहरुले सहमतिमै पठाएको भन्दै तारन्तार फोन गरिरहेका छन् । तर, हामी बालबालिकाबारे थप अनुसन्धान गरिरहेका छौँ,’ शाहीले भने ।

डीएसपी शाहीले ती बालबालिका मुगु र हुम्लाका भएपनि कुन स्थानीय तहका भनेर खुलाएको छैनन् । प्रहरीले नियन्त्रणमा लिइएका २८ जना बालबालिकालाई सुर्खेतकै आवाज भन्ने संस्थामा राखिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १७:२७

लोकप्रिय