सूचनाको शक्ति - The Power Of Information

        

आइसिसी टी-२० विश्वकप

नेपालले दश वर्षपछि विश्वकप खेल्दा देशभर उत्साह

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा आज राति हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रिँदैछ ।

आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्डसँग पहिलो खेल खेल्दैछ । अमेरिकामा हुन लागेको खेल नेपाली समय अनुसार राति साढे ९ बजे सुरु हुनेछ । लामो समयपछि विश्वकपमा सहभागी हुन पाउँदा नेपाली खेल क्षेत्र त उत्साहित छ नै, देशभर उत्साह छ ।

काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा टी–ट्वान्टी विश्वकप क्रिकेट खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।

यी स्थानहरूमा खेल हेर्न कुनै शुल्क तिर्नु नपर्ने महानगरले जानकारी दिएको छ । प्रदर्शनस्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको सांगीतिक प्रस्तुति पनि रहने महानगरले जानकारी दिएको छ ।

देशका अन्य स्थानीय तहहरुले पनि खेलको प्रत्यक्ष प्रशारण गर्ने तयारी गरेका छन् । टी–२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्न देशभरका स्थानीय तहलाई युवा तथा खेलकुद मन्त्रालयले निर्देशन नै दिएको छ । सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजीकरणका लागि सचिवस्तरीय निर्णय अनुसार अनुरोध गरिएको हो ।

मन्त्रालयले सबै स्थानीय तहहरूले सम्बन्धित स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम उपयुक्त गरी नेपाल खेलप्रेमीको हौसला बढाउने वातावरण बनाउन अनुरोध गरिएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा आज राति हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रिँदैछ ।

त्यसो त नेदरल्यान्ड पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्याण्डविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

उनले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो असवर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताए । नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो ।

त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सवैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गरे ।

यसैगरी यसपटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुलशन झा सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन् । उनी १८ वर्ष भएका छन् । विश्वकप खेल्ने तयारी अवस्थामा रहेका नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना प्रदान गरेका छन् ।

प्रधानमन्त्रीले पनि खेलाडीहरुलाई शुभकामना दिएका छन् । अमेरिका र वेस्ट इन्डिजमा चालु टी–२० विश्वकप क्रिकेटका विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन् ।

त्यस्तै विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही सात लाख ८७ हजार डलर पाउनेछन् भने प्रतियोगितामा सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् । विश्वकपमा नेपाल र नेदरल्यान्ड समूह ‘डी’मा रहेका छन् । नेपालको समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १७:१९