सूचनाको शक्ति - The Power Of Information

        

राजदूत फिर्ता बोलाएर कांग्रेससँगको प्रतिशोध साँध्दै प्रचण्ड

सरकारले कुटनीतिक क्षेत्रमा क्रियाशील रहेका व्यक्तिलाई पनि अपमानजनक ढंगले फिर्ता गर्ने तयारी गरेको छ । राजनीतिक कोटमा नियुक्त भई विदेशमा रहेका राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको हो । ‘एमालेसँगको सहकार्यमा रहेको वर्तमान सरकारले राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

कांग्रेससँगको प्रतिशोधको आधारमा उनीहरूलाई फिर्ता बोलाउन लागिएको हो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्रका कर्मचारीलाई यो विषयमा जानकारी गराइसकेका छन् । ‘संभवत निकट दिनमा बस्ने मन्त्रिपरिषदको बैठकबाट राजदूत फिर्ताको निर्णय हुनेछ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । वर्तमान सरकारले राजदूत नियुक्तिको एक वर्ष नपुग्दै फिर्ता गर्ने तयारी गरेको हो ।

फिर्ता गर्नेमा अमेरिकादेखि भारतसम्मका आठ राजदूत रहेको स्रोतको दाबी छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसको कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउन एमाले अध्यक्ष ओलीले दबाब दिएको स्रोतले जनाएको छ । एमाले सरकारमा सहभागी भएको चार महिना पुगिसकेको र अघिल्लो सरकारको राजनीतिक नियुक्ति पुनरावलोकन नभएको भन्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग गुनासो गरेका थिए ।

आइतबारको भेटघाट पनि उनले यो कुरा दोहोर्याएपछि प्रधानमन्त्रीले ती राजदूतहरूको फिर्ताका लागि तयारी थाल्न परराष्ट्रलाई आग्रह गरेका थिए । ‘कांग्रेसको कोटामा नियुक्ति भएको स्थानमा एमाले र रास्वपानिकट रहेका केही व्यक्तिलाई नियुक्ति गरिनेछ,’ स्रोतले भन्यो । राजदूत नियुक्तिमा यसपटक पनि नेकपा एसलाई नदिने गरी तयारी थालिएको स्रोतले जनाएको छ ।

सरकारले भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि नेपाली राजदूत प्रा.श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी), कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल र फिर्ता बोलाउने भएको हो ।

परराष्ट्रकै सहसचिव दुबसु क्षेत्रीलाई पनि फिर्ता बोलाउने तयारी रहेको स्रोतको दाबी छ । उनी जापानका राजदूत हुन् । उनी यसअघि बेलायतको पनि राजदूत भैसकेका थिए । क्षेत्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवानिकट हुन् । झापा घर भएकाले उनी बेलाबखत बालकोटमा समेत पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार ०७:३९

लोकप्रिय