सूचनाको शक्ति - The Power Of Information

        

बैङ्लोरमा जलेर अस्तायो बझाङका पाँच जनाको परिवार

बझाङको जयपृथ्वी नगरपालिका–११ सुइलका ३२ वर्षीय मदन बोहरा भारतको बैङ्लोरमा चौकीदारीको काम गर्थे । मदनसँग उनकी श्रीमती र छोराछोरी पनि बस्थे । गत बुधबार राति ड्युटी सकेर उनी कोठामा पुगे । राति १२ बजेतिर खाना पकाउने क्रममा एक्कासी ग्याँस विस्फोट भयो ।

खाना पकाउने ग्याँस लिक भएर भएको आगलागीमा जलेर घाइते भएका मदनसहित परिवारका पाँच जनाले संसार छाडे । घटनापछि गम्भीर घाइते उनीहरूलाई उद्धार गरेर अस्पताल लगिएको थियो । उपचारको क्रममा स्थानीय भिक्टोरिया अस्पतालमा मृत्यु भएको आफन्त दामोदर धामीले बताए ।

जलेर घाइते मदनका छोरा ५ वर्षीय प्रशान्तको घटना भएकै दिन मृत्यु भएको थियो । माइली छोरी ९ वर्षीया अनिताको शुक्रबार र श्रीमती ३० वर्षीया पे्रमजलाको शनिबार मृत्यु भएको हो । मदनको आइतबार राति र जेठी छोरी १२ वर्षीया मिरिताको सोमबार बिहान उपचारको क्रममा निधन भएको धामीले जानकारी दिए ।

‘परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । घटनापछि चन्दा उठाएर उपचार गरिरहेका थियौँ,’ मृतकका आफन्त धामी भन्छन्, ‘तर परिवारको एक जनालाई पनि जोगाउन सकेनौँ ।’ घाइते भएका बोहरा परिवारका पाँच जनाको उपचारका लागि नेपाल र भारतमा आर्थिक सहयोग संकलन गरिएको थियो । उनीहरूको शरीर पूरै जलेको थियो ।

मृतक तीन जनाको बैङ्लोरमै अन्त्यष्टि गरिएको छ । मदन र जेठी छोरी मिरिताको पनि सोमबार अन्त्यष्टि गरिएको छ । मृतक मदनका बुवा ६० वर्षीय विष्णु र ५५ वर्षीया आमा जुनकला दुई महिना पहिले छोराबुहारी र नातिनातिनासँग भेटघाटका लागि बैङ्लोर गएका थिए । लामो समयदेखि बैङ्लोरमा बस्ने छोरा, बुहारी र नातिनातिनासँग भेटघाट भएको थिएन ।

बुवा विष्णु यसअघि पनि भारत गइरहन्थे । उनी श्रीमती जुनकलालाई लिएर बैङ्लोरमै चौकीदारीको काम गरिरहेका थिए । वृद्धअवस्थामा छोराको परिवार ढलेको शोकमा पीडाले उनीहरू विक्षिप्त छन् । घटनापछि उनीहरू सम्हालिन सकेका छैनन् । मृतक मदन आर्थिक अवस्था कमजोर भएर गाउँमा जीविकोपार्जन गर्न नसकेपछि बैङ्लोर पुगेका थिए ।

उनी परिवारसहित ६ वर्षदेखि बैङ्लोरमै बस्दै आएका थिए । श्रीमती प्रेमजला स्थानीयको घरमा सरसफाइको काम गर्थिन् । श्रीमान् मदन चौकीदारी । उनीहरूले तीन छोराछोरीलाई त्यहीँको स्थानीय विद्यालयमा अध्ययन गराइरहेका थिए । ‘एक–दुई वर्ष थप बसेर पैसा कमाउने र पछि छोराछोरीलाई पढाउनका लागि घर आउने भन्नुहुन्थ्यो,’ धामी भन्छन्, ‘आज यस्तो दुःखद खबर सुन्नुपरेको छ ।’

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार ०७:११

लोकप्रिय