सूचनाको शक्ति - The Power Of Information

        

यस बर्ष अत्यधिक बर्षा, प्रकोपको जोखिम उत्तिकै

यो वर्षको मनसुनमा मुलुकभरि नै सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएको छ । त्यसबाट मनसुनजन्य प्रकोप अत्यधिक हुनसक्ने भन्दै मौसम विभागले पूर्वतयारीका लागि सरोकारवालालाई सचेत गराएको छ । उक्त आंकलन विभिन्न ग्लोबल मोडलहरूको तथ्यांक केलाएर बनाइएको मौसम विभागका मौसमविद् सुदर्शन हुमागाईंले बताए ।

उनका अनुसार सरदरभन्दा बढी वर्षा आँकलन गर्नुपूर्व विश्वव्यापी तथा क्षेत्रीय पूर्वानुमानहरूको अध्ययन गरिन्छ । जापान मौसम एजेन्सी, कोलम्बिया युनिभर्सिटी, कोपर्निकस क्लामेट सिस्टम लगायतका पूर्वानुमान हेरिन्छ । त्यसपछि विभिन्न खालका सातवटा जति मोडलहरूको तथ्यांकलाई हेरेर नेपालको तथ्यांकसँग सहसम्बन्ध कस्तो छ हेरेर पूर्वानुमान गरिन्छ । हुमागाईं भन्छन्, यो तथ्यांकीय मोडल हो ।

यसमा गणितीय गणनामार्फत पुराना डाटासँग कुनै मोडलका सम्बन्ध निकालेर भविष्यमा कस्तो हुन्छ भनेर निकाल्ने हो । अहिले धेरैजसो मोडलहरूले सरदरभन्दा बढी पानी पर्ने देखाएको छ ।’ पहिला निकालिएको तथ्यांकलाई पुनः अपडेट गरेर यसै साता दोस्रो अपडेट विभागले निकाल्ने छ । त्यसले आगामी मनसुनमा कति पानी पर्छ सुनिश्चित गर्छ ।

विभागले विपद् आउनसक्ने सूचना दिएर सूचित गरे पनि सम्बन्धित निकायहरूले प्रतिकार्यका लागि तयारी हुनुपर्ने उनी बताउँछन् । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्लास्तरीय निकाय, स्थानीय निकायहरूले मनसुनजन्य प्रकोप न्यूनीकरण, व्यवस्थापनमा तत्पर हुनुपर्छ । प्रिमनसुनमा भन्दा मनसुनमा चट्याङका घटना कमै हुने भए पनि बाढी, पहिरो जस्ता विपद्का घटना भने धेरै हुन्छन ।

विभागले कुन ठाउँमा बाढीको संभावना छ त्यहाँका जनतालाई एसएमएसमार्फत पूर्वसूचना दिँदै आएको जनाएको छ । वरिष्ठ मौसमविद्, अजय दीक्षित भन्छन्, मनसुन चाँडै आउँदै छ र मनसुनसँगै केही हुँदै छ । उनले भने, ‘विभाग जस्तो निकायले पूर्वानुमान अवधि र प्रभावकारितालाई सुधार गर्दै लैजानुपर्छ ।’

त्यसैगरी नेपालका ७५३ वटै स्थानीय तह, प्रदेश तथा संघीय सरकारका सम्पूर्ण निकायहरू विपद् प्रतिकार्यका लागि सतर्क रहन सुझाएका छन् । मनसुनजन्य गतिविधिबाट हुने बाढी तथा पहिरोको लागि तत्काल उद्धारकार्य, औषधि उपचार, खाद्यान्नको व्यवस्था मिलाउन तम्तयार अवस्थामा बस्नुपर्ने हुन्छ । यसका लागि नेताहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने दीक्षितले बताए ।

सिक्किम आयो, नेपालका लागि ‘सेटअप’ भएन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन छिमेकी भारतको सिक्किमसम्म आइसकेको भए पनि नेपालमा कहिले प्रवेश गर्छ भन्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ । सामान्यतः जुन १३ मा मनसुन भित्रिने गर्छ । तर, हालसम्म मनसुन ‘सेटअप’ भइनसकेको महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद्, शान्ति कँडेल भन्छिन् ‘पूर्वमा शनिबारबाट अलि–अलि पानी पर्न थालेको छ । तर, पूरै मनसुन सेटअप भइसकेको छैन । अपडेट गर्ने छौं ।’ मौसमविद्, कँडेल मौसमको पूर्वानुमान एकदमै चुनौतीपूर्ण रहेको बताउँछिन् । ‘मनसुन यो दिन आउँछ भनेर ठोकुवा गर्न मिल्दैन,’ उनी भन्छिन्, ‘त्यसका लागि आधार चाहिन्छन् ।’ मनसुन भित्रिने विषयमा विभिन्न मापदण्ड हुन्छन् । मापदण्ड पूरा भएपछि मात्रै मनसुन भित्रिएको घोषणा गरिन्छ ।

कँडेलका अनुसार दुईचार वर्ष पहिलासम्म मनसुन भित्रिएको केही दिनपछि मात्रै घोषणा गरिन्थ्यो । तर, हिजोआज मनसुन कसरी भित्रिन्छ भन्ने विषयमा अध्ययन गर्दै अपडेट गर्न थालिएको कँडेलले बताइन् । मनसुन प्रवेश भयो भन्नलाई मुलुकको पूर्वी भूभागमा कम्तीमा तीन दिनदेखि लगातार वर्षा भएको हुनुपर्छ । त्यसैगरी पानीको वाष्पीकरण र बादलको मात्रा निश्चित हुनुपर्छ र पश्चिमी वायु सेटअप बन्नुपर्ने लगायतका विभिन्न मापदण्डहरू हुन्छन् । यस्ता विषयमा गहन अध्ययन, अनुसन्धान महत्वपूर्ण मानिने कँडेलले बताइन् ।

सोमालियामा लो प्रेसर स्थापित हुनुपर्छ

मनसुन भित्रिएको घोषणा गर्नुअघि राष्ट्रिय मात्रै नभएर र अन्तर्राष्ट्रिय मापदण्डहरू पनि अध्ययन गर्नुपर्ने हुन्छ । मनसुनलाई ग्लोबल क्लाइमेटले फरक पार्छ । सोमालियामा सोमाली लो प्रेसर र मगादास्करमा हाई प्रेसर स्थापित हुनुपर्छ । त्यहाँबाट हावाको गति विस्तारै अरवियन सागरमा आइपुग्छ । त्यहाँबाट दुइटा मनसुनको शाखा बन्छ । एउटा अरवियन सागर र अर्को बंगालको खाडीमा जान्छ ।

अरवियन सागरबाट गुजरात हुँदै पाकिस्तान जान्छ र कहिलेकाहीँ नेपालसम्म पनि पुग्छ । पूर्वतिर बंगालको खाडी हुँदै नेपाल भित्रिने हुन्छ । सामान्यतयः मनसुनमा हावाको प्याटर्न परिवर्तन हुन्छ । जाडोसम्म सतहदेखि माथिसम्म पश्चिमी वायु हुन्छ । तर, मनसुन आएपछि विस्तारै पूर्वीय वायु स्थापित हुन्छ । त्यसमा माथिल्लो वायुमन्डलमा तीव्र गतिको हावा हुन्छ । त्यो नेपालभन्दा माथि तिब्बततिर सर्नुपर्छ ।

त्यहाँ उष्णचापीय क्षेत्र बन्नुपर्ने लगायतका विभिन्न मापदण्डका आधारमा नेपालमा मनसुन भित्रिने उनले बताइन् । तर, कहिलेकाहीँ मनसुन भित्रिने समय ढिलोछिटो पनि हुने गर्छ । महाशाखाका अर्का मौसमविद् गोविन्द झा भन्छन्, ‘मनसुन भित्रिन उपयुक्त वातावरण नभएको खण्डमा कहिलेकाहीँ बाटोबाटै हराउने पनि हुन्छ । कतिपय अवस्थामा हावाको गतिमा पनि भर पर्छ । हावा बढी तीव्र गतिको भएमा छिटो अगाडि बढ्छ ।’

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार ०७:३१

लोकप्रिय