सूचनाको शक्ति - The Power Of Information

        

भारतमा लोकसभा निर्वाचन, मोदी तेस्रो पटक प्रधानमन्त्री !

भारतमा लोकसभा निर्वाचनको सातै चरणको मतदान सकिएको छ । यसको नतिजा जुन ४ मा आउने निर्वाचन आयोगले बताएको छ । लोकसभा निर्वाचन सकिएसँगै एक्जिट पोलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए) गठबन्धनले तेस्रोपटक चुनाव जित्ने प्रक्षेपण गरेका छन् ।

भारतीय संचार माध्यमका अनुसार लगभग सबै एक्जिट पोलहरूले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले ३५० भन्दामाथि सिट जित्ने प्रक्षेपण गरेका छन् । १० वटा एक्जिट पोलमा भाजपाको एनडीएले ३५० भन्दा बढी सिट पाउने प्रक्षेपण गरिएको छ भने कंग्रेसको इन्डिया गठबन्धनले १२५ देखि १६१ सिट पाउने अनुमान गरिएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश, छत्तीसगढ र दिल्ली जस्ता हिन्दी बाहुल राज्यहरूमा भाजपाले एकतर्फी अग्रता पाउने अनुमान गरिएको छ । यी राज्यहरूमा ९० प्रतिशतभन्दा बढी सिटमा भाजपाको जित निश्चित रहेको प्रक्षेपण गरिएको छ । भाजपाले राजस्थानमा २३ देखि २५ सिट पाउने अनुमान छ । त्यस्तै उत्तर प्रदेशमा ६९ देखि ७४ सिट र छत्तीसगढमा ११ मध्ये ११ सिट जित्न सक्ने संचार माध्यमहरुले बताएका छन् ।

लोकसभा चुनावको अघिल्लो छ चरणहरूको लागि मतदान अप्रिल १९, अप्रिल २६, मे ७ , मे १३, मे २० र मे २५ मा भएको थियो । आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशमा पनि विधानसभा चुनावहरू भएका छन् । ओडिशामा पनि पछिल्लो चार चरणमा लोकसभा र विधानसभाको चुनाव एकैसाथ भएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतवार ०६:५९