सूचनाको शक्ति - The Power Of Information

        

गर्मीले जनजीवन प्रभावित

सिक्किम आइपुगेको मनसुन नेपालमा कहिले भित्रिएला ?

मनसुन नेपाल प्रवेश गर्ने सरदर मिति यही जुन १३ तारिख हो । मनसुन नेपाल भित्रिने सरदर मिति अझै १२–१३ दिन लाग्छ । तर यसभन्दा केही दिन अघिपछि पनि हुनसक्छ ।

अत्यधिक गर्मीले देशभरको जनजीवन नराम्ररी प्रभावित बनेको छ । बिहानदेखि लाग्ने चर्को घामले सडकमा आवतजावत निक्कै पातलो छ । उखरमाउलो गर्मीले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् । कडा घामसँगै तातो हावा चल्दा हिँडडुल गर्न निक्कै सास्ती भएको छ । प्रचण्ड गर्मी र दिउँसो चल्ने तातो हावा (लू)का कारण पश्चिम तराईको जनजीवन प्रभावित बन्दै गएको छ ।

पानी नपर्दा गर्मी दिनदिनै बढिरहेको छ । गर्मीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । गर्मीले आजित भएका नागरिकहरु मनसुन कहिले भित्रिएला र पानी परेपछि गर्मी कम होला भन्दै पर्खाईँमा बसिरहेका छन् । यता बर्खायाम सुरु गराउने मौसम प्रणाली ‘मनसुन’ सिक्किम आइपुगेको र ‘केही दिन’भित्र पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यस वर्षको मनसुन भारतको उत्तर–पूर्व, बंगलादेश, भुटान हुँदै आज सिक्किमसम्म आइपुगेको हो । महाशाखाले शनिबार सूचना जारी गर्दै भनेको छ, ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिनको लागि अझै केही दिन लाग्ने देखिएको छ ।’ महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन नेपाल प्रवेश गर्ने सरदर मिति यही जुन १३ तारिख हो । तर यसभन्दा केही दिन अघिपछि पनि हुने मौसमविद् बताउँछन् ।

‘हामीले बुलेटिनमा मनसुन नेपाल आइपुग्न केहीदिन लाग्ने किन भनेका हौँ भने अहिले नै यति दिनभित्र मनसुन प्रवेश गर्छ भनेर अनुमान लगाउने अवस्था भइसकेको छैन,’ मौसमविद् अर्यालले भने, ‘मनसुन नेपाल भित्रिने सरदर मिति अझै १२–१३ दिन छ, हामी निरन्तर अनुगमन गरिरहेका छौँ, त्यस आधारमा पुनः जानकारी गराउनेछौँ, तर अहिले नै यति दिनभित्र मनसुन नेपाल आइसक्छ भनेर तोक्न सक्दैनौँ ।’

यस क्रममा मौसमविद् अर्यालले अचेल गुगल गरेर जो पनि मौसमविद् बनेर घोषणा गर्ने क्रम बढेको टिप्पणी पनि गरे । ‘हामी यत्रो टिम लागेर अनुगमन गरिरहेका छौँ,’ उनले भने, ‘यहाँ गुगल हेर्दै घोषणा गरिदिन्छन् ।’ नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो । तर यसभन्दा केही दिन अघिपछि हुनसक्ने मौसमविद् बताउँछन् । अहिले भने प्रिमनसुन सिजन चलिरहेको छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो ।

बर्खायाममा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने विभागको आँकलन छ । विभागले केही समयअघि जारी गरेको प्रतिवेदनमा भनिएको छ, ‘आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरूमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोसी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ ।’

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार १४:२६

लोकप्रिय