सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ ‘हरित कर’ लागू

नेपाल आयल निगमले ‘हरित कर’ लागु गरेको छ । निगमले बजेट बक्तव्य मार्फत् जेठ १६ गतेदेखि लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले हरित कर लिने भएको हो । आगामी आर्थिक वर्षको बजेटमा भएको व्यवस्था अनुसार निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा १ रुपैयाँ हरित कर उपभोक्ताबाट उठाउने गरी मूल्य निर्धारण गरेको हो ।

सरकारले जेठ १५ मा बजेट भाषण गर्दा पेट्रोल र डिजेलमा १ रुपैयाँ हरित कर लगाउने घोषणा गरेको थियो । निगमले आज शनिबार देखि लागू हुने पेट्रोलियम पदार्थको मूल्यमा एक रुपैयाँ हरित करमा जोडेर लिनेछ । भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य ४.४२ र डिजेलको मूल्य २.४५ रुपैयाँ प्रतिलिटर घटेको भए पनि निगमले भने हरित कर कटाएर पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १ रुपैयाँ मात्रै घटाएको छ ।

“नेपाल सरकारले बजेट बक्तव्य मार्फत् यही जेष्ठ १६, २०८१ देखि लागु हुने गरी पेट्रोल र डिजेलमा प्रति लिटर रु १.०० का दरले लगाएको हरित कर समेत पेट्रोल र डिजेलको मूल्यमा समायोजन गरी निगम संचालक समितिको मिति २०८१–०२–१८ गतेको निर्णय अनुसार १ जुन २०२४ (जेष्ठ १९, २०८१) को बिहान ००ः०१ बजेदेखि लागु हुने गरी साविकको खुद्रा बिकी मूल्यमा पेट्रोलमा प्रति लिटर रु. ३.०० र डिजेल तथा मट्टितेलमा प्रति लिटर रु.१.०० ले घटाइएको छ,’ निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार ११:१८

लोकप्रिय