सूचनाको शक्ति - The Power Of Information

        

क्यासिनो नवीकरण नगरे इजाजत पत्र खारेज

जेठ मसान्तसम्म क्यासिनो नवीकरणका लागि आवेदन नदिए क्यासिनो सञ्चालकको इजाजतपत्र स्वतः खारेज हुने भएको छ । सञ्चालन गर्दै आएको क्यासिनो यही जेठ मसान्तसम्म नवीकरणका लागि निवेदन नदिए सञ्चालनका लागि लिएको इजाजतपत्र स्वतः खारेज हुने पर्यटन विभागका प्रवक्ता एवं निर्देशक कालिबहादुर भुजेलले जानकारी दिए ।

उनले भने, ‘क्यासिनोको इजाजतपत्र असार मसान्तमा नवीकरण हुने तथा उक्त नवीकरणका लागि एक महिनाअगाडि जेठ मसान्तसम्म आवेदन दिनुपर्ने हुन्छ । जेठ मसान्तसम्म नवीकरणका लागि आवेदन नदिए स्वतः खारेज हुनेछ ।’ अहिलेसम्म क्यासिनो नवीकरण गराउनका लागि न्यून सङ्ख्यामा मात्रै आवेदन परेको प्रवक्ता भुजेलले बताए । उनका अनुसार देशभरि क्यासिनो सञ्चालनका लागि २८ इजाजतपत्र दिइएको छ ।

यसैगरी, विभागबाट अनुमति लिई सञ्चालनमा रहेका क्यासिनो सञ्चालकले इजाजतपत्रको मान्य अवधि समाप्त हुनुअगावै (चालु आव असार मसान्त) नवीकरण गर्नुपर्ने भएकाले चालु आवको जेठ मसान्तभित्र बक्यौता र तोकिएबमोजिमको क्यासिनो रोयल्टी रकम, नवीकरण दस्तुर तथा क्यासिनो नियमावली, २०७० को नियम १३ (१) मा उल्लिखित कागजात संलग्न गरी विभागमा निवेदन दिन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार १०:१८

लोकप्रिय