सूचनाको शक्ति - The Power Of Information

        

तराईमा अझै दुई दिन तातो हावाको चेतावनी

जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सातौं पटक तातो हावाको लहर चल्ने चेतावनी जारी गरेको छ । महाशाखाले यसअघि पनि जेठ १९ र २० गते दुई दिन तातो हावाको लहर चल्ने चेतावनी जारी गरेको थियो ।

विगतका दिनमा जस्तै आज शनिबार र भोलि आइतबार पनि सबैभन्दा बढी लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रका जिल्लामा तातो हावाबाट प्रभावित हुने अनुमान गरिएको छ । पछिल्ला दिनमा नेपालमा गर्मी अत्यधिक बढेको छ । तराईका केही जिल्लाहरूमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन भएको छ ।

लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा एक साताभन्दा बढी समयदेखि लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । एकसाता भन्दा बढी समयदेखि तातो हावा चल्दा पश्चिम तराईको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।

शुक्रबार धनगढीको अधिकतम तापक्रम ४२.५ डिग्री सेल्सियस मापन भएको थियो भने नेपालगन्जको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस थियो । यी स्थानहरूमा न्यूनतम तापक्रम पनि ३० डिग्री सेल्सियस हाराहारीमा रहने हुँदा अझै गर्मी महशुस हुनेछ ।

बिहीबारको तुलनामा नेपालगन्ज र धनगढीको अधितकत तापक्रम केही घटेको मौसमविद गोविन्द झा बताउँछन् । बिहीबार ती ठाउँमा तापक्रम ४४ डिग्री सेल्सियस नाघेको थियो । काठमाडौं उपत्यकामा पनि गर्मी बढ्दो छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार ०९:५६

लोकप्रिय