सूचनाको शक्ति - The Power Of Information

        

सोलार जडानपछि २४ सै घण्टा प्रसूति सेवा सञ्चालनमा

राप्तीसोनारी गाउँपालिका वडा नं. ७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा हालै जडान गरिएको सोलार ।

बाँकेको राप्तीसोनारी वडा नं. ७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा सोलार जडान गरिएको छ । सोलार जडानपश्चात् २४ सै घण्टा प्रसूति सेवा सञ्चालनमा सहज र अनियमित विद्युत आपूर्ति हुँदा पर्ने समस्याहरूको समाधान हुने भएको छ । फत्तेपुर स्वास्थ्य चौकीका इन्चार्ज मनोजकुमार मिश्रले स्वास्थ्य चौकीमा सोलार जडान भएपछि अनियमित विद्युत आपूर्ति हुँदा भइरहने समस्याको समाधान भएको र अब २४ सै घण्टा प्रसूति सेवासमेत सञ्चालन गरिने जानकारी दिए ।

‘बत्तीको लोडसेडिङ तथा विद्युत आपूर्तिमा अनियमित हुँदा चिस्यान र भण्डारण गराएर राख्नुपर्ने भ्याक्सिन लगायतमा अत्यन्तै समस्या हुँदै आएको इन्चार्ज मिश्रले बताए । ‘लामो समयसम्म बत्ती नहुँदा भ्याक्सिनहरू चिस्याउन र भण्डारणका लागि स्वास्थ्य कार्यालय नेपालगन्जसम्म पुर्याउनुपर्थ्यो,’ इन्चार्ज मिश्रले भने, ‘अब सोलार जडान भएको छ, विद्युत अनियमितताबाट हुने सबै समस्याहरू हल भएका छन्, विशेष गरी प्रसूति सेवा अब २४ सै घण्टा उपलब्ध गराउँछौं ।’

इन्चार्ज मिश्रका अनुसार राप्तीसोनारीका वडा नं. ३, ४, ५, ६ र ७ गरी पाँचवटा वडाहरूमा भ्याक्सिन चिस्याउने र भण्डारण गर्ने उपकरण छैनन् । ती वडाका मासिकरुपमा बालबालिकाहरूलाई लगाउनुपर्ने भ्याक्सिन तथा अन्य भ्याक्सिनसमेत यही स्वास्थ्य चौकीमा चिस्यान र भण्डारण गराएर वितरण गरिँदै आइएको छ । बत्ती नहुँदा भ्याक्सिन चिस्याउनका लागि स्वास्थ्य कार्यालय नेपालगन्जसम्म लैजानुपर्ने बाध्यता रहेको थियो ।

भ्याक्सिनलाई प्लस दुईदेखि प्लस ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुँदा नियमित बत्तीको आपूर्ति नहुने समयमा अत्यन्तै समस्या हुने गरेको उनले बताए । स्वास्थ्य चौकीमा रहेका दुई थान एलआर फ्रीज र प्रसूति सेवाका उपकरणहरू नियमित सञ्चालनका लागि अब सोलार जडानपछि नियमित बत्ती आपूर्ति हुने र प्रसूति सेवा, इरिपोर्टिङ, इएलएमस रिपोर्टिङ, इहाजिरी लगायत अन्य सबै सेवाहरू सञ्चालनमा सहज हुने उनको भनाइ छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का अध्यक्ष रामलखन थारुले स्वास्थ्य चौकीमा सोलार जडान भएपछि २४ सै घण्टा विद्युत आपूर्तिमा सहज भएको बताए ।

उनले विद्युत आपूर्ति अवरुद्ध हुँदा हुने सबै प्रकारका समस्याको समाधान भएको जनाए । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ले आफ्नो संसदीय विकास कोषबाट वैकल्पिक ऊर्जाका लागि ५ लाख रुपैयाँको बजेट विनियोजन गरिदिएको र सोही रकमबाट ३.२ केबी क्षमताको सोलार जडान गरिएको वडाध्यक्ष थारुले जानकारी दिए । सोलार जडान भएपछि यहाँबाट वितरण गरिने सबै वडाहरूका भ्याक्सिन चिस्यान र भण्डारणमा कुनै समस्या नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार ०९:५२

लोकप्रिय