सूचनाको शक्ति - The Power Of Information

        

आफ्नै भवन नहुँदा प्रहरीलाई समस्या

प्रहरी चौकी फत्तेपुर ‘क’ले हाल भान्साको रुपमा प्रयोग गर्दै आइरहेको र पहिला कार्यालय सञ्चालन गरेको साझा संस्थाको जीर्ण भवन ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ स्थित प्रहरी चौकी फत्तेपुर ‘क’को आफ्नै भवन नहुँदा त्यहाँ कार्यरत प्रहरीहरुलाई समस्या परेको छ । प्रहरीको नियमित कार्यालय सञ्चालन गर्ने कोठासमेत नहुँदा सास्ती व्यहोर्नुपरेको हो । प्रहरी चौकी फत्तेपुर ‘क’ स्थायी प्रहरी चौकी हो ।

उक्त चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ जना प्रहरी छन् । भवन नहुँदा प्रहरीले ७ नम्बर वडा कार्यालयले दिएको दुई वटा कोठाबाट कार्य सञ्चालन गर्दै आएको छ । केही वर्ष अघिसम्म साझा संस्थाको जीर्ण घरबाट कार्य सञ्चालन गर्दै आएको प्रहरीले हालभने ७ नम्बर वडा कार्यालयको भवनबाट जसोतसो सेवा प्रदान गर्दै आएको छ ।

प्रहरी चौकी फत्तेपुर ‘क’का इन्चार्ज प्रहरी सहायक निरीक्षक लोकबहादुर बोहराले चौकीको आफ्नै भवन नहुँदा सेवाग्राहीलाई सेवा प्रदान गर्न समस्या परेको बताए । उनले वडा कार्यालयको तल्लो तलामा वडा कार्यालयले दुई वटा कोठा दिएको र सोही कोठाहरुबाट कार्य सम्पादन गर्दै आएको बताए ।

‘यहाँ हाम्रो आफ्नै भवन छैन, केही वर्ष अघिसम्म साझा संस्थाको पुरानो भवनबाट कार्य सञ्चालन हुँदै आएको रहेछ, हाल भने सो भवन अति नै जीर्ण, पुरानो र पानी चुहिने भएपछि २०७५ सालदेखि वडा कार्यालयले दुई वटा कोठा दिएको रहेछ र सोही ठाउँबाट अहिले सेवा प्रवाह गर्दै आएका छौं,’ प्रसनि बोहराले भने ।

दुई वटा कोठामध्ये एउटा कोठामा आफूहरु सुत्नका लागि प्रयोग गरिएको र अर्को एउटा कोठामा हतियार तथा कागजात राख्नका लागि प्रयोग हुँदै आएको उनको भनाइ छ । कार्यालय सञ्चालनका लागि अलग्गै कोठा नहुँदा काम कारवाहीमा समस्या भइरहेको उनले गुनासो गरे ।

‘हिउँदमा त हामीले कार्यालय भवनको बाहिर चौरबाट सेवा प्रदान गरिरहेका छौं, तर वर्षाको समयमा कहाँबाट सेवा प्रदान गर्ने हो ? थाहा छैन, सेवाग्राहीहरुलाई भित्र कोठामा राखेर सेवा दिने कुनै उपाय नै छैन, सम्भव पनि छैन,’ बोहराले भने । प्रसनि बोहराका अुनसार साझा संस्थाको जीर्ण भवनमा हाल भान्सा मात्र सञ्चालन गरिएको छ ।

माओवादी जनयुद्धपूर्व तत्कालीन फत्तेपुर गाविसको जग्गामा चौकीको आफ्नै भवन रहेको र द्वन्द्वकालीन तत्कालीन समयमा विद्रोहीद्वारा भवन ध्वस्त पारिएको ७ नम्बर वडाध्यक्ष रामलखन थारुले जानकारी दिए । अध्यक्ष थारुका अनुसार आफ्नो भवन ध्वस्त भइसकेपछि साझा संस्थाको पुरानो भवनमा प्रहरी बस्न थालेको थियो ।

अति नै जीर्ण भवनबाट २०७५ सालमा वडा कार्यालयले कार्यालय भवनको तल्लो तलाका दुई वटा कोठा प्रहरीलाई प्रयोग गर्न दिइएको उनले जानकारी दिए । प्रहरीले प्रयोग गरेवापत आउने विद्युत् र पानीसमेतको शुल्क वडा कार्यालय नै व्यहोरिरहेको र प्रहरी सुत्नका लागि फलामबाट निर्मित खाटसमेत वडा कार्यालयले व्यवस्थापन गरिदिएर हस्तान्तरण गरिएको अध्यक्ष थारुले बताए ।

चौकी भवन निर्माणका लागि वडाको बजेटबाट सम्भव नहुने भन्दै आफूले प्रदेश सरकार र सङ्घीय सरकारसँग पहल गरिरहेको अध्यक्ष थारुले जानकारी दिए । भवन निर्माणका लागि प्रहरीको नाममा जग्गा हुनुपर्ने तर प्रहरीको आफ्नै नाममा जग्गा नहुँदा अर्को समस्या देखिएको अध्यक्ष थारुको भनाइ छ ।

प्रहरी चौकीमा जग्गा सीमा विवाद तथा घरायसी पारिवारिक झैझगडाका उजुरीहरु बढी आउने गरेको प्रहरी चौकीले जनाएको छ । कहिलेकाहीँ थुनुवा राख्नुपर्ने अवस्था आयो भने कि त इलाका प्रहरी कार्यालय भगवानपुर कि त जिल्ला प्रहरी कार्यालय नेपालगन्ज पठाउनुपर्ने बाध्यता रहेको चौकीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले उक्त चौकीको आफ्नै भवन नहुँदा कार्य सम्पदान तथा सञ्चालनमा बाधा आउने गरेको भन्दै अर्को व्यवस्था नहुँदासम्म साझा संस्थाकै पुरानो भवनलाई मर्मत तथा सम्भार गरेर सञ्चालन गर्नका लागि वडाध्यक्षसँग कुराकानी भइरहेको बताए ।

‘हाललाई साझा संस्थाकै सोही भवनलाई आवश्यक मर्मत तथा सम्भार गरी सञ्चालन गर्नका लागि वडाध्यक्षसँग कुराकानी भइरहेको छ, प्रहरीको भवन निर्माणका लागि जग्गा प्राप्ती लगायतका कानुनी प्रक्रिया पनि सँगसँगै अगाडि बढाएका छौं, जग्गा प्राप्ती भएपछि भवन निर्माणका लागि अर्को प्रक्रिया सुरु गर्छौं,’ प्रहरी उपरीक्षक कार्कीले भने ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार बाँकेमा प्रहरीका ६४ वटा एकाइ छन्, जसमध्ये ४४ वटा एकाइ स्वीकृति अनुसार सञ्चालन छन् भने बाँकी २० प्रहरी एकाइ आवश्यकताका आधारमा, सम्भावित घटना हुने स्थानमा तथा नागरिकका मागका आधारमा अस्थायीरुपमा स्थापना गरी सञ्चालनमा रहेका छन् ।

यीमध्ये प्रहरीको आफ्नै जग्गा भएका २४ वटा एकाइ छन्, त्यसैगरी ३० वटा एकाइसँग आफ्नै भवन रहेको छ भने दुई वटा एकाइ भाडामा सञ्चालन रहेका छन् । तीन वटा एकाइ आफ्नो जग्गा भएका तथा भवन नभएका रहेका छन् । फत्तेपुर ‘क’सहित अन्य सात एकाइ अन्य सङ्घसंस्थाको सहयोगमा सञ्चालित रहेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार ०९:४५

लोकप्रिय