सूचनाको शक्ति - The Power Of Information

        

सडक विकासले फेरिँदै गाउँको मुहार

हालै कालोपत्रे गरिएको राप्तीसोनारी ७ स्थित नन्कउपुर–पोखराथान सडक ।

देश सङ्घीयतामा गएसँगै गाउँगाउँमा स्थानीय सरकार बनेका छन् । सर्वसाधारण नागरिकले अहिले सबै सेवा सुविधाहरू गाउँमै भएको स्थानीय सरकारमार्फत उपभोग गर्न पाइरहेका छन् । स्थानीय सरकारमार्फत गाउँमा हुने गरेका विकासका कामबाट सर्वसाधारण खुसी छन् ।

‘अहिले घरकै आँगनबाट चिल्लो पिच सडक बनेको छ, गाडीहरू दौडिन्छन्, धुलो उड्दैन, उत्पादन गरेका तरकारी तथा फलफूलहरू आफूले बोकेर लैजानुपर्दैन, धेरै सजिलो भएको छ,’ राप्तीसोनारी गाउँपालिका ७ बाँकेका ५४ वर्षीय किसान रामचन्द्र थारुले भने ।

उनले थपे, ‘पहिला सडक नहुँदा दुःख थियो, हिँडेर सडक भएको ठाउँसम्म पुग्नुपर्थ्यो, आफूले फलाएका तरकारी बेच्न पनि आफैँ बोकेर बजारसम्म जानुपर्थ्यो तर अहिले पिच सडकले गर्दा सबै समस्या समाधान भएको छ ।’

रामचन्द्रले पिच सकड बनेपछि समयको धेरै बचत हुने गरेको बताए । उनले भने, ‘पहिला पहिला कहीँ कतै जानुपर्यो भने एकाबिहानै उठेर हिँड्नु पर्थ्यो, अहिले घरको ढोकामै गाडी आउँछ, समयमै आफूले जान चाहेको ठाउँमा जान सकिन्छ, हतारो गर्नुपर्दैन, समयको बचत भएको छ, आफ्ना खेतबारीका अन्न, फलफूल तथा तरकारी बेच्न जान पनि बोकेर जानुपर्दैन ।’

राप्तीसोनारी गाउँपालिका ७ का वडाध्यक्ष रामलखन थारुले विकासका क्रममा सबैभन्दा पहिले सडक विस्तार हुनु नै अन्य विकासका कामको पनि ढोका खोलिनु भएको बताए । उनले भने, ‘वडामा अन्य विकासका थुप्रै कामहरू पनि गरेका छौँ, तर मुख्य गरेर सडक सञ्जाल नै हो, सडक गाउँगाउँमा पुगेपछि अन्य भौतिक विकासका कामहरू बिस्तारै हुँदै जान्छन्,’

वडाध्यक्ष थारुले आफ्नो वडामा यस आर्थिक वर्षमा आठ वटा सडकका योजनाहरू सञ्चालनमा रहेको बताए । उनले तीन वटा सडक कालोपत्रे र पाँचवटा सडक स्तरोन्नतिका योजनाहरू सञ्चालन गरिएको बताए । सडक कालोपत्रेका तीन वटा योजनाहरू सम्पन्न भइसकेको उहाँले जानकारी दिए ।

तीन वटा योजनामार्फत गाउँमा दुई किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न गरिसकिएको उनको भनाइ छ । लुम्बिनी प्रदेश सरकार र वडा कार्यालयको बजेटबाट सडक कालोपत्रेका लागि एक करोड, ७५ लाख र ५० लाख लागतका तीन वटा योजना सम्पन्न भइसकेको र सडक स्तरोन्नतिका साना ठुला गरी पाँचवटा योजना सञ्चालनमा रहेको उनले जानकारी दिए ।

‘यो आर्थिक वर्षमा वडाभित्र आठवटा सकडका योजनाहरू कार्यान्वयन गर्दछौँ, तीन वटा योजनामार्फत दुई किलोमिटर सडकको कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ ।’ उनले भने, ‘सडक स्तरोन्नतिका पाँचवटा योजनामार्फत करिब तीन किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ ।’

पाँच वटा योजनामार्फत करिब तीन किलोमिटर सडकको नालीसहितको ग्राभेल हालेर स्तरोन्नतिको काम भइरहेको उनले बताए । सडक सञ्जालले वडाको लगभग सबै बस्ती छोइसकेको वडाध्यक्ष थारुले बताए । वडाभित्र सडक नभएका ठाउँमा सडकको नयाँ ट्र्याक खोल्ने, धुले सडकको स्तरोन्नति गर्ने र सडक कालोपत्रे गरिने कार्य निरन्तर जारी रहने अध्यक्ष थारुले बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार ०९:३७

लोकप्रिय