सूचनाको शक्ति - The Power Of Information

        

कष्टकर बन्दै जनजीवन

उफ् ! नेपालगन्जको उखरमाउलो गर्मी

गर्मी बढेसँगै नेपालगन्जमा विद्युत् अनियमितताका कारण यहाँका नागरिकले थप कष्ट भोग्नुपरेको छ ।

अत्यधिक गर्मीले पश्चिम तराईको जनजीवन नराम्ररी प्रभावित बनेको छ । बिहानदेखि लाग्ने चर्को घामले सडकमा आवतजावत निक्कै पातलो छ । उखरमाउलो गर्मीले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् ।

कडा घामसँगै तातो हावा चल्दा हिँडडुल गर्न निक्कै सास्ती भएको छ । प्रचण्ड गर्मी र दिउँसो चल्ने तातो हावा (लू) का कारण पश्चिम तराईको जनजीवन प्रभावित बन्दै गएको छ । बिहीबार ४४.२ डिग्री सेल्सियस पुगेको छ ।

अत्यावश्यक काम बाहेक स्थानीबासी बिहान र बेलुका घरवाट बाहिर निस्कँदैनन् । गर्मी बढदै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ ।

अत्यधिक गर्मीका कारण बाँकेमा सबैभन्दा बढी प्रभावित मजदुर, रिक्सा चालक र खुला ठाउँमा काम गर्ने भएका छन् । चिकित्सकले गर्मीबाट जोगिन बढीभन्दा बढी पानी खान र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेका छन् ।

नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा.आसिम किदवाईले गर्मी बढ्दा र तातो हावा लु चलिरहेकोले बढी भन्दा बढी पानी खान आग्रह गर्दै झोलिलो खानेकुरा बढी खान तथा अनावश्यक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.विष्णु थापाका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट प्रभावित बनेका १०० भन्दा बढी बालबालिका अस्पतालको ‘ओपीडी’मा दैनिक उपचारका लागि आउने गरेका छन् ।

जेठको पहिलो सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, झाडापखालाका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् ।

जिल्लाको भेरी अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पताल, जानकी अस्पताल, सिद्धार्थ अस्पतालमा दैनिक सरदर २५० बढी गर्मीका कारण हुने रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ ।

तातो हावाले हिँड्नै सकस भएपछि स्थानीय तहहरुले विद्यालय बन्द गरेका छन् भने गर्मीका कारण यहाँका सरकारी तथा नीजि अस्पतालमा ज्वरो, रुघाखोकी, आउँ, टाइफाइड, झाडापखाला र छाला रोगका बिरामी बढेका छन् ।

अत्यधिक गर्मीका कारण बेहोस हुने, छालामा असर हुने, रिंगटा लाग्ने समस्या हुने, रक्तचाप पनि कम हुने, शरीरमा ग्लुकोजको मात्रा कम हुने लगायतका समस्या देखिने गरेका छन् । शरीरमा पानीको मात्रा घट्दा मृगौला लगायतका अंगमा समस्या हुने चिकित्सकहरु बताउँछन् ।

गर्मीका कारण शरीरमा पानीको मात्रा घट्न नदिई पानीको मात्रा बढाउन कम्तीमा पाँच लिटर पानी पिउन चिकित्सकहरुले सुझाएका छन् । तातो लू चल्न थालेपछि अस्पतालमा बिरामीको संख्या बढेको छ । जेठको सुरुदेखि गर्मी बढेको हो ।

नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा गर्मीका कारण रक्तदान गर्नेको संख्या घटेपछि रगत अभाव भएको रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए । गर्मीमा विद्युत नियमित नहुँदा आमनागरिक ठुलो सास्ती खेप्न बाध्य भएका छन् ।

बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय प्रचण्ड गर्मीको बेला पटक पटक विद्युत आपूर्ति बन्द हुने र धेरै बेरसम्म नआउने हुँदा सास्ती खेप्न बाध्य भएका छन् । गर्मी बढेसँगै नेपालगन्जमा विद्युत् अनियमितताका कारण यहाँका नागरिकले थप कष्ट भोग्नुपरेको छ ।

नेपालगन्जमा विद्युत् नियमित नहुनु, भोल्टेज कम आउनु, कुनै पनि बेला बिना सूचना विद्युत् सेवा बन्द हुनुका कारण नागरिकले थप कष्ट व्यहोर्नुपरेकोे छ । ‘विद्युत झ्यापझ्याप गइरहन्छ, बत्ती नहुँदा घरभित्रै बस्न पनि गाह्रो भएको छ,’ नेपालगन्जका दीपक हमालले भने ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले गतसाता आएको हावाहुरीले २५० बढी पोल ढलेपछि समस्या भएको बताए । गत साता आएको हावाहुरीले ठुलो क्षति पुगेपछि विद्युत वितरणमा समस्या भएको उनको भनाइ छ ।

नेपालगन्जमा अत्यधिक गर्मीबाट राहत पाउन पंखा, कुलर, एसी लगायतका इलेक्ट्रोनिक सामानहरुको खपत र बिक्री दोब्बरले बढेको छ । गर्मीका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनेको छ ।

जीविकोपार्जनको माध्यम दैनिक ज्यालादारी मात्रै हुने मजदुरलाई उखरमाउलो गर्मीमा काम गर्न निकै कठिन भएको छ । आफ्नै जग्गा जमिन नभएकाले विगत १५ वर्षदेखि मजदुरी गर्दै आएकी ३० वर्षीया कृष्णी थारू बर्खा याममा सहनै नसकिने गरी गर्मी बढ्ने गरेको बताइन् ।

‘बढ्दो गर्मीले होला मलाई एकदमै चक्कर आउलाजस्तो हुन्छ । तर काम नगरी सुखै छैन । मैले काम गर्नैपर्छ,’ उनले भनिन् । गर्मी याममा दिन पनि लामो हुने भएकाले काम गर्न थप कठिन हुने उनी र उनका साथीहरू बताउँछन् ।

‘अहिले घाम अनि तातो हावाले बिरामी नै पार्लाजस्तो भएको छ । तर पेट पाल्न काम त गर्नपर्यो । मानिसहरू घरभित्रै बस्ने भएकाले आम्दानी पनि छैन,’ उनले भने । ‘गर्मीले दुईछाक टार्न कठिन भएको छ, तर जसरी पनि काम गरौँ भने चढ्ने मान्छे नै पाइँदैन ।’

उनको जस्तै अनुभव नेपालगन्जमा दैनिक मजदुरी गर्ने धेरैको छ । मानिसहरूको दैनिक जनजीवनमात्रै नभई अहिले तराईका धेरै क्षेत्रमा सरकारी कार्यालयका कामहरू गर्न जान पनि कठिन भएको सेवाग्राहीहरु बताउँछन् ।

सहरी क्षेत्रमा मानिसहरूको चहलपहल निकै कम देखिन्छ । दिउँसोको समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको छ । काम विशेषले हुम्लाबाट नेपालगन्ज झरेकी मनमाया बस्नेतले गर्मीका कारण आफ्नो काम प्रभावित भएको बताइन् ।

उनले भनिन् ‘नेपालगन्जमा गर्मी खान आएकोजस्तो मात्र भएको छ । कार्यालयमा लाइनमा बसेर केही गर्नुपरेमा गर्मीले लाइनमै ढल्ने जस्तो अवस्था छ ।’ सुर्खेतका भीमप्रसाद काफ्लेले पनि नेपालगन्जमा टिक्नै नसक्ने गर्मी महसुस भइरहेको बताए ।

‘सुर्खेतबाट यता आउँदा साह्रै गर्मी महसुस भयो, शरीरभरि बिमिरा आइसक्यो । दिउँसोको समयमा घरभित्र बस्नसमेत समस्या भइसक्यो,’ उनले भने । वर्षौँदेखि नेपालगन्ज बस्दै आएका मानिसहरू पनि पहिलेको तुलनामा गर्मी बढ्दै गएको अनुभव सुनाउँछन् ।

स्थानीय बासिन्दा भक्त पुनले गर्मी छल्न दैनिक चार पटकसम्म चिसो पानीले नुहाउने गरेको बताए । उनले भने, ‘त्यत्तिकै बस्दा पनि खलखली पसिना आइराख्छ, नुहाएको १० मिनेटमा फेरि उस्तै पसिना आउन थाल्छ ।’

नेपालगन्जकै राधिका थापाले कामका लागि बजार निस्कनु परे बिहान र बेलुकाकै समय पर्खिनुपर्ने बताइन् । ‘दिउँसो घर बाहिर निस्कँदा सिधै आगोले पोलेजस्तो हुन्छ । घरभित्र पनि भोल्टेज कम भएर होला, पङ्खाले राम्ररी हावा पनि दिँदैन ।’

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार ०८:५३

लोकप्रिय