सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

हिजो ४४.२ डिग्री पुगेको नेपालगन्जमा आज के होला ?

नेपालगन्जमा हिजो अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् गोविन्द झाले साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगन्जको ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताएका थिए ।

उनका अनुसार हिजो दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम रेकर्ड भएको थियो । त्यसलाई उछिनेर नेपालगन्जले ‘रेकर्ड ब्रेक’ गरेको हो । यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । आज विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ । काठमाडौँ र पोखरामासमेत तापक्रम बढिरहेको छ ।

हिजो पोखरामा ३४ र काठमाडौँमा ३४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाइएको छ । हाल कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेपनि बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक– दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज मौसममा खासै फेरबदल नहुने देखिएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार ०८:१८

लोकप्रिय