सूचनाको शक्ति - The Power Of Information

        

गर्मी छल्न बन्द भए पश्चिम तराईमा विद्यालय

नेपालगन्जमा आज यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । नेपालगन्जको अधिकतम तापक्रम ४३ दशमलव आठ रेकर्ड भएको छ । उक्त तापक्रम यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी हो ।

सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ । बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ । धनगढीमा बुधबार ४३.३६ डिग्री सेल्सियस मापन भएको थियो ।

पश्चिम तराईका अधिकांश शहरमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । केही शहरमा ४२ डिग्री सेल्सियसको हाराहारी पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक सातायता गर्मी बढेको छ ।

धनगढी, नेपालगन्ज, घोराही, तुलसीपुर लगायत शहरमा गर्मीले जनजीवन प्रभावित भएको छ । केही दिनयता गर्मी बढेपछि पश्चिम तराईका स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन् । गर्मी बढेपछि स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले जेठ १५ गतेदेखि १८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको छ । धनगढी उपमहानगरले पनि जेठ २४ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको छ । दाङको घोराही र तुलसीपुर उपमहानगरले पनि पाँच दिन बिदा दिएका छन् ।

दुवै उपमहानगरमा जेठ २२ गतेसम्म शैक्षिक संस्था बन्द रहने भएका छन् । गर्मीले जनजीवन प्रभावित भएपछि शैक्षिक संस्थामा बिदा दिइएको छ । स्थानीय तहले पछि बर्खे बिदाबाट मिलान हुने गरी गर्मी बिदा दिएका हुन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार १७:५८

लोकप्रिय