सूचनाको शक्ति - The Power Of Information

        

जनजीवन कष्टकर

अत्यधिक गर्मीका कारण बाँकेमा खोप अभियान प्रभावित

हालसम्म लक्ष्यको करिब ४९ प्रतिशत बालबालिकालाई खोप दिइएको छ ।

अत्यधिक गर्मीका कारण बाँकेमा पोलियो रोगविरुद्धको आइपीभी खोप अभियान प्रभावित भएको छ । गर्मी र तातो हावा ‘लु’ का कारण नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका विद्यालय पाँच दिन बन्द भएकाले सो अभियान प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गर्मीका कारण अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेकाले पोलियो रोगविरुद्धको आइपीभी खोप अभियान प्रभावित भएको जानकारी दिए । उनले यही जेठ १३ गतेबाट जिल्लाका ३५ हजार ७०५ बालबालिकालाई आइपीभी खोप दिने लक्ष्यका साथ सुरु गरिएको अभियान अन्तर्गत जेठ १५ गते बेलुकासम्म १७ हजार ३३५ बालबालिकालाई खोप दिइसकिएको बताए ।

बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठले विद्यालय बन्द भएपछि विद्यालयमा स्थापना गरिएका खोप केन्द्रलाई समुदायमा स्थानान्तरण गरेर समुदायमा खोप दिन सुरु गरिएको थियो । खोप अभियान सुरु भएको तीन दिनमा आठ हजार ३७७ बालिका र आठ हजार ९५८ बालक गरेर १७ हजार ३३५ लाई खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार हालसम्म लक्ष्यको करिब ४९ प्रतिशत बालबालिकालाई खोप दिइएको छ । त्यसमध्ये सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा ६९ प्रतिशत र सबैभन्दा कम नेपालगन्ज उपमहानगरपालिकामा करिब ३८ प्रतिशतलाई खोप दिइएको श्रेष्ठको भनाइ छ । बालबालिकालाई पोलियो रोगविरुद्धको आइपीभी खोप दिने अभियान जिल्लाका ८ स्थानीय तहमा आइतबारबाट सुरु गरिएको थियो ।

बाँकेका खोप स्रोत व्यक्ति श्रेष्ठका अनुसार खोप दिनका लागि जिल्ला भरि २४३ खोप केन्द्र कायम गरिएको थियो । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जेठ १३ देखि २६ गतेसम्म सो अभियान सञ्चालन गरिने जनाइए पनि लक्षित सबै बालबालिकालाई खोप नदिएसम्म अभियान जारी रहने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार १६:४२

लोकप्रिय