सूचनाको शक्ति - The Power Of Information

        

‘विवादित’ डीआइजीलाई कर्णाली प्रहरीको कमाण्ड

कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआइजी अर्जुन चन्द ठकुरीलाई दिइएको छ । हिजो (बुधबार) गृह मन्त्रालयले केही डीआइजीहरुको सरुवा र पदस्थापन गर्दै ठकुरीलाई कर्णाली पठाएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआइजी लालमणी आचार्यलाई भने भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको छ ।

अब आचार्यको स्थानमा ठकुरी आउने छन् । ठकुरी उनै विवादित प्रहरी अधिकारी हुन्, जो बेलाबेला विवादमा आइरहन्छन् । उनी डिएसपी हुँदादेखि नै विवादित बनेका हुन् । तत्कालीन समयमा चर्चित जमिम शाह हत्याकाण्डमा संलग्न भारतीय अपराधीसँग उनको कनेक्सन देखिएको थियो । उनी त्यसबेला डिएसपी थिए ।

त्यो घटनामा उनीमाथि छानबिन भएको थियो, तर त्यसबेला प्रहरी नेतृत्वको उनीप्रति सहानुभूति भएकाले जोगिएका थिए । त्यसपछि उनी एसपी भएर कैलालीमा बस्दा पनि विवादमा फसे । त्यसपछि डीआइजीमा बढुवा भएपछि विमानस्थलमा पोष्टिङ भएका उनी सुरुदेखि कमजोर देखिएका थिए ।

विमानस्थलमा उनको अन्य निकायसँग समन्वय कमजोर देखिएको थियो । उनले भिजिट भिसामा भाग खोजेपछि झनै टकराब बढेको थियो । त्यही टकराब बढेर केही समय अगाडि विमानस्थलमा कुटाकुट नै भएको थियो । घटनाको दिन उनी विदामा थिए । पछि बनेको छानबिन समितिले उनको कमजोरी औँल्याएको थियो । त्यहीँ क्रममा उनले राजीनामा पन दिएका थिए ।

तर पछि उनले राजीनामा फिर्ता लिएर काममा फर्किएका थिए । त्यसभन्दा अगाडि पनि उनी एकपटक विवादमा मुछिएका थिए । दुई महिनाअघि एयरलाइन्स कम्पनीसँग निःशुल्क टिकट मागेको घटना बाहिरिएको थियो । उनले नेपाल वायुसेवा निगमलाई आफूसहित परिवारका लागि बैंकक घुम्न सित्तैमा टिकट मागेको खुलासा भएको हो । उनी प्रहरी बृत्तमा खासगरी कमजोर कमाण्ड भएका प्रहरीका रूपमा चिनिन्छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार १२:२९

लोकप्रिय