सूचनाको शक्ति - The Power Of Information

        

वैदेशिक रोजगारीका पीडा

धन कमाउन विदेश गएका चार हजार नेपाली उतै अस्ताए

स्वदेशबाट मेडिकल जाँच गरी श्रमका लागि गन्तव्यमा पुगेका नागरिकको वैदेशिक रोजगारीको अवधिमा हुने मृत्युलाई स्वाभाविक मान्न सकिँदैन ।

गत तीन वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार ३५ नेपालीले विदेशमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७–०७८ देखि २०७९–०८० सम्म उक्त संख्यामा नेपाली श्रमिकको ज्यान गएको हो । यो अवधिमा ८७० जना अंगभंग तथा बिरामी भएका छन् । पछिल्लो तीन वर्षमा विदेशमा मृत्यु हुने श्रमिकको संख्यामा केही कमी आए पनि अंगभंग तथा बिरामी हुने दर बढ्दो क्रममा रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारबीच झैझगडा, परिवारिक तनाव, स्थानीय कानूनको जानकारीको अभाव, मशिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटना, जलेर, निस्सासिएर, डुबेर लगायतका कारणले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मृत्यु तथा अंगभंग भएको तथा बिरामी परेको औंल्याइएको छ ।

यस वर्ष ज्यान गुमाएका एक हजार २५० जनामध्ये मलेशियामा २७.९६ प्रतिशत, साउदी अरबमा २६.३६ प्रतिशत, संयुक्त अरब इमिरेट्समा १७.९८ प्रतिशत, कतारमा १७.२३ प्रतिशत, कुवेतमा ६.०४ र अन्य देशमा ४.४३ प्रतिशत छन् । स्वदेशबाट मेडिकल जाँच गरी श्रमका लागि गन्तव्यमा पुगेका नागरिकको वैदेशिक रोजगारीको अवधिमा हुने मृत्युलाई स्वाभाविक मान्न नसकिने जनाइएको छ ।

यसरी अस्वाभाविक, अज्ञात र अन्य कारणले मृत्यु हुनेको संख्या अधिक रहेको देखिएकाले वास्तविक कारण पत्ता लगाउनुका साथै बिरामीको कारण मृत्यु हुने मुलुकको स्वास्थ्य सुविधा सम्बन्धी अध्ययन, ट्राफिक दुर्घटनाबाट मृत्यु हुने मुलुकमा सचेतनाका कार्यक्रम, आत्महत्या दुरुत्साहन गर्न मनोचिकित्सा लगायत कार्यक्रम सञ्चालन गरी श्रमिकको मृत्युदर न्यून गर्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनको सुझाव छ ।

वैदेशिक रोजगार नियमावलीमा वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधिभित्र कुनै कारणले मृत्यु भएमा मृतक श्रमिकको नजिकको हकवालालाई वैदेशिक रोजगार कोषबाट सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ । वैदेशिक रोजगार बोर्डबाट प्राप्त विवरण अनुसार विगत पाँच वर्षमा पाँच हजार ५११ मृतक श्रमिकका परिवारलाई तीन अर्ब तीन करोड ९८ लाख रुपैयाँ र अंगभंग तथा बिरामी श्रमिकलाई ४३ करोड ८४ लाख ७२ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार १०:५७

लोकप्रिय