अत्यधिक गर्मी र तातो हावा ‘लु’का कारण रक्तदान गर्ने घट्दै गएपछि नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । पश्चिम नेपालको तीन वटा प्रदेशको स्वास्थ्य ‘हब’ बन्दै गएको नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा गर्मीका कारण रगत दिन आउने घटेपछि रगतको मौज्दात अत्यन्त न्यून हुँदा रगत अभाव भएको हो ।
प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अति नै गम्भीर बिरामीलगायत दुर्घटनामा परेका बिरामीको पनि प्रमुख उपचार गर्ने थलो बनेको नेपालगन्ज र कोहलपुरमा रगत अभावले बिरामीलाई समस्या हुन थालेको बताए । उनले चर्को गर्मीका कारण संस्थागत रक्तदानमा कमी आउँदा रगत अभाव भएको जनाए ।
केन्द्र प्रमुख रेग्मीले संस्थागत रक्तदानका लागि विभिन्न सङ्घ संस्थासँग आग्रह गरिरहेको बताए । ‘हामीले रक्तदाता संस्था र रक्तदाता ग्रुपसँग नियमित सम्पर्क गरिरहेका छौँ,’ उनले भने, ‘संस्थाले नियमित रक्तदान गराउन ध्यान दिएनन् भने रगतको ठुलो समस्या हुन सक्छ ।’ रगतको अभाव भएपछि गम्भीर अवस्थाका बिरामीलाई तत्काल चाहिने रगतका लागि आफन्तले निकै दौडधुप गर्नु परेको अस्पतालले जनाएका छन् ।
आवश्यक परेको रगत नपाएपछि अधिकांश बिरामीका आफन्तले सामाजिक सञ्जालमा पोस्ट गरेर सर्वसाधारणसँग रक्तदानको आग्रह गरिरहेको दैनिकजसो देख्न सकिन्छ । हालका लागि जेनतेन काम चलिरहे पनि आपत्कालीन कुनै घटना हुने हो भने त्यसलाई थेग्न सक्ने रगत अहिले रक्तसञ्चार केन्द्रको स्टकमा छैन ।
रक्तसञ्चार केन्द्रका अनुसार नेपालगन्ज, खजुरा र कोहलपुर गरी दैनिक कम्तीमा ८० पिन्ट रगत माग हुने गरेको छ । सो माग पूरा गर्न दैनिक जसो सोही मात्रामा रगत सङ्कलन हुने गरी रक्तदानको पनि आवश्यकता रहेको केन्द्रका प्रमुख रेग्मीले बताए । नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगन्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ ।
रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रले आर्थिक वर्ष २०७८–०७९ मा १६ हजार ७८७ पिन्ट रगत वितरण गरेको थियो भने आव २०७९–०८० मा १८ हजार ७५७ पिन्ट रगत वितरण गरेको थियो । सोही प्रकारले चालु आवको वैशाखसम्म १५ हजार १९ पिन्ट रगत वितरण गरिसकेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
यो तथ्याङ्कले पनि हरेक वर्ष रगतको माग बढ्दै गएको पुष्टि गरेकाले सरकारले भेरी अस्पतालमा छुट्टै ब्लड बैङ्कको स्थापना गर्नुपर्ने नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झनाले बताए । उनले रगत अभाव पूरा गर्न दिनहुँ जसो रक्तसञ्चार केन्द्रले विभिन्न सङ्घ संस्था र व्यक्तिसँग रक्तदानको आग्रह गर्दै आएको जनाउँदै भेरी अस्पतालमा पनि ब्लड बैङ्क सञ्चालन गरिए माग पूरा गर्न सहज हुने बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके