सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप नेपालमै, क्यान पदाधिकारी अमेरिका उडे

नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी परिवारसहित आइसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन् । उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन् ।

अध्यक्ष चन्द त आइसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन् । विश्वकप खेल्ने टिमका लागि आइसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ । जसले गर्दा उनीहरु बिजनेस क्लासमा यात्रा गर्छन् भने अमेरिका बसाईको खर्चपनि आइसीसीले नै व्यहोर्ने गर्छ ।

आइसीसले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा उपलव्ध गराएको थियो । क्यानकै सदस्य दिवाकर घले टिम लिडरको रुपमा रहेका छन् । नेपाली टिम झण्डै १ महिना अघि गए पनि घले भने गत साता मात्रै अमेरिका प्रस्थान गरेका थिए । यस्तै, अर्का केन्द्रीय सदस्य प्रदीप मजगैंया म्यानेजरको भूमिकामा रहेर टिमसँगै गइसकेका छन् ।

अध्यक्ष चन्द नेपाली कांग्रेसका वैतडी सभापति पनि हुन् । उनले काठमाडौंको नार्गाजुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई पनि विश्वकपका लागि अमेरिका लगेको सामाजिक सञ्जालबाट प्रस्ट हुन्छ । सचिवसहित अन्य केन्द्रीय सदस्यहरु पनि केही दिनमै अमेरिका प्रस्थान गर्ने तयारीमा छन् ।

विश्वकपका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका अन्य व्यक्तिहरु पनि जाने तयारीमा रहेको बुझिएको छ । तर, नेपाली क्रिकेट टिमलाई विश्वकपमा पुर्याएका सन्दीप लामिछानेको भने भिसा नपाउँदा अमेरिका जाने प्रकृया अन्यौंलमा छ । लामिछानेको विश्वकप खेल्ने अन्यौँल भएका बेला क्यानका पदाधिकारीहरु श्रीमतिसहित अमेरिका गएपछि सामाजिक सञ्जालमा क्यानको आलोचना भएको छ ।

यसअघि सन्दीपको भिसा २०२५ सम्म रहेकोमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि भिसा रद्द भएको जानकारी गराइएको थियो । त्यसपछि नयाँ प्रक्रिया सुरु गर्दा अमेरिकी दूतावासले उनको भिसा रिजेक्ट गरेको थियो । यसबीचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन । जसका कारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको उनी निकट स्रोतले जनाएको छ ।

भिसाको विषयमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग कुरा गर्न जाँदा मन्त्रीले घुमाउरो तरिकाले आफूले नसक्ने जनाउँ दिइसकेका छन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भिसाको लागि प्रयास जारी राखिएको जवाफ सन्दीप निकट स्रोतलाई दिए पनि आज दिनभरीमा सकारात्मक परिणाम नआए सन्दीपले विश्वकप खेल्न नपाउने निश्चित जस्तै छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार ०८:३१

लोकप्रिय