सूचनाको शक्ति - The Power Of Information

        

मौसम : कतै वर्षा, कतै तातो लहर

तराईमा शुक्रबारसम्म तातो हावा चल्ने, तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।

नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

ती भू–भागहरूमा तीन दिन (जेठ १६ गतेदेखि जेठ १८ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन भनिएको छ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ । बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार ०७:५८

लोकप्रिय