सूचनाको शक्ति - The Power Of Information

        

पहिरोको जोखिमले गाउँनै तितरबितर

केही वर्षअघि जैमिनी नगरपालिकाको वडार गाउँ भरिभराउ थियो । कृषि कर्मबाट गुजारा चलाउनेहरू खुशी देखिन्थे । वडार गाउँ २०७० को दशकमा सडक सञ्जालसँग जोडियो । गाउँलाई फेरो हालेर जैमिनी–१ कुश्मिशेरा र बागलुङ नगरपालिका–११ रायडाँडा जोड्ने सडकले गाउँ नै पहिरोको जोखिममा पार्यो ।

सुविधाका लागि बनाइएको सडकले वडार बासीको उठिबास लगायो । तीस परिवार रहेको गाउँ अहिले पाँच परिवारमा खुम्चिएको छ । पहिले पहिरो आउलाकी भनेर गाउँले बसाइँ सरे र अहिले घरछेउमै पहिरो खसेपछि गाउँलाई तितरबितर बनाएको छ । दुई वर्षअघि भदौ २१ गते बागलुङ–११ को तल्लो रामतोलामा ठूलो पहिरो खस्यो ।

पहिरोले वडार र रामतोलाका दर्जनौँ घरपरिवार विस्थापित भए । जमिन बग्दा सडक, जङ्गल र पीपलका रूख बगेसँगै पहिरो भने रोकिएको छैन । ‘हिउँदमा ढुक्कले घरमै बसियो, बर्खा लागेसँगै पहिरोले सताउँछ, पहिरो छेवैमा घर भएका वडारका खेम पौडेलले भने, ‘भीमकाय पहिरोले बेचैन बनाएको छ ।’

पहिरोले रामतोलाका सात र वडारका १५ परिवार विस्थापित भएका छन् । बागलुङ र जैमिनी नगरपालिकाका दुवै गाउँमा बाँकी रहेका घरपरिवारमा समेत बर्खा लागेसँगै पहिरोको चिन्ता छ । जमिन चिरा परेको स्थान हेर्दा सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको पौडेलले बताए ।

पहिरो नियन्त्रणका लागि स्थानीय र प्रदेश तहबाट कठिन हुने भएपछि नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग, जोखिमयुक्त पहिरो व्यवस्थान आयोजनाले अध्ययन गरेको थियो । पहिराको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार काम भए पनि स्रोत अभावमा वर्षौं लाग्ने रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।

तीन तहका सरकार मिलेर पहिरो नियन्त्रणको प्रयास भइरहेको गौतम बताउँछन् । ‘घरवासविहीनलाई तत्काल राहत उपलब्ध गराइयो, बस्ने बन्दोबस्ती मिलाइयो, बाँकी नियन्त्रणको काम चलिरहेको छ,’ गौतमले भने, ‘पहिरो सानोतिनो बजेट र कामले रोकिने अवस्थामा छैन् ।’ उनका अनुसार पहिरोले बगेका सडक पुनर्निर्माण गर्ने, भलबाढी तर्काउने र पहिरो थप गहिरो हुन नदिन तारजाली लगाउने काम चलिरहेको छ ।

पहिरो नियन्त्रणका लागि संघीय सरकारले जलाधार संरक्षण कार्यक्रमबाट २५ लाख र गण्डकी प्रदेश सरकारले विपत् व्यवस्थापनबाट ३० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेट चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेकाले थप क्षति हुनबाट बचाउन सहयोग पुग्ने जैमिनी–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले बताए । पहिरोको त्रासले गाउँ छाडेकाहरू चितवन, नवलपरासी र देशका ठूला सहरमा बसाइँ सरेका छन् । गाउँमा बाँकी रहेका पनि हिउँदे वर्षामा समेत सुरक्षित घर खोजेर बास बस्ने अवस्था रहेको आचार्य सुनाउँछन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १४:५७

लोकप्रिय