सूचनाको शक्ति - The Power Of Information

        

बुकीमै बसेर यार्सागुम्बाको खोजी

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त छन् । बुकीमा ओढारमा बास बसेर पाइजासहित उनका साथीहरुले बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलन गरिरहेका छन् ।

चिमखोलाको कालीबराह बुकीदेखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा यतिबेला यार्सा संकलन गर्नेको भीड लागेको छ । चिमखोलाका करिब ५० जना अहिले यार्सा संकलनका लागि बुकीमै बास बस्ने गरेको पाइजाले बताए ।

‘करिब दुई महिनासम्म हामी बुकीमै बसेर यार्सा संकलन गर्छौं, बिगतका तुलनामा यार्सा निकै थोरै भेटिने गरेको छ, दिनमा २० देखि २५ वटासम्म मात्रै हामीले यार्सा संकलन गरिरहेका छौं,’ पाइजाले भने । यसअघिका वर्षमा दिनमा दुई सय वटासम्म यार्सा संकलन हुने गरेको बताउँदै उनले यस वर्ष यार्सा कम भेटिएको बताए ।

यार्सा संकलकहरु यतिबेला बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन् । संकलन भएको यार्सा स्थानीय स्तरमा २०० देखि २५० सम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा संकलन गर्दै गरेका गमान गर्बुजाले बताए । यार्सा संकलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् ।

म्याग्दीमा केहि वर्ष अघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरुमा मात्रा घटेको छ । चालु आर्थिक वर्षमा आधा किलो यार्सागुम्बा संकलनका लागि मात्रै पुर्जी लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिए ।

यार्सागुम्बा संकलन र निकासीका लागि राजस्व तिरेर संकलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ । हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा संकलनकर्ताले संकलन भएपछि मात्रै सोही बमोजिमको संकलन पुर्जी काट्न थालेका छन् ।

जिल्लाको चिमखोला, कुइनेमङ्गले, मल्कबाङ, मुदी, गुर्जालगायतका स्थानीयबासी अहिले लेकाली क्षेत्रमा यार्सा संकलनमा व्यस्त बनेका छन् । विशेषगरी वैशाखको मध्यदेखि जेठको अन्त्यसम्ममा हिमालको फेदीसम्म पुगेर जोखिम मोलेरै स्थानीयले यार्सा संकलन गर्ने गर्छन् ।

धवलागिरि गाउँपालिका–१ गुर्जाबाट करिब १५० जना यार्सा संकलनका लागि गुर्जा, चुरेन र पुथा हिमालको बुकीतर्फ गएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । उनले यार्सा संकलन हिमाली क्षेत्रका बासीन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको बताए । यार्सा टिप्न जानेहरुले देवीदेवताको पूजापाठ गरी काम सुरु गर्छन् ।

यार्सा संकलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारीजस्तै बनेको छ । तर जोखिमपूर्ण तवरले संकलित यार्साले उचित मूल्य नपाउँदा यार्सा संकलनकर्ताहरु निरास बन्न थालेका छन् । सर्वसाधारणबाट व्यवसायिहरुले प्रतिकिलो पाँचदेखि छ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन् । हालको बजारमूल्य प्रतिकिलो आठदेखि १० लाखसम्म रहेको जानकार बताउँछन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १५:३२

लोकप्रिय