सूचनाको शक्ति - The Power Of Information

        

किन बढ्दैछ वैदेशिक अध्ययनमा जाने नेपाली युवाको सङ्ख्या ?

भक्तपुरकी प्रजिता तिमिल्सिना कक्षा १२ को परीक्षा उत्तीर्ण गरे पनि स्नातक तह अध्ययन गर्ने वा नगर्ने भन्नेबारे अन्योलमा छिन् । भक्तपुरकै एक विद्यालयबाट कक्षा १२ सकाएकी उनी केही वर्षभित्र जापान या अन्य कुनै देशमा अध्ययन तथा रोजगारीको लागि जाने सोचमा छिन् । नेपालमा पढे पनि भनेजस्तै रोजगारी नपाइने भएकाले अहिलेदेखि नै विदेश जाने तयारी गरेको उनको भनाइ छ ।

विदेश जान लामो समय र प्रक्रिया लाग्न सक्ने भएकाले कुनै सरकारी कलेजमा भर्ना गर्ने तयारीसमेत उनी तयारी गर्दैछिन् । उनले भनिन्, ‘भनेकै समय विदेश जान सकिँदैन । लामो समय पनि लाग्न सक्छ । त्यसलै सरकारी क्याम्पसमा भए पनि भर्ना गर्छु र पढ्दै गर्छु ।’ उनका अनुसार पछिल्लो समय जापानमा जान सजिलो भएकाले जापानिज भाषा पढाउने कन्सल्टेन्सीको खोजीमा उनी छिन् ।

उच्च शिक्षासँगै रोजगारीका लागि विदेश जान तरखरमा लाग्ने प्रजिता पछिल्लो युवा पुस्ताकी प्रतिनिधि पात्र मात्र हुन् । अहिले कक्षा १२ पछि अधिकांश युवाको रोजाइ बाह्य मुलुक नै परेको देखिन्छ । अध्ययनसँगै रोजगारीको समेत अवसर पाइने भएपछि धेरै युवाहरुको रोजाइमा अहिले जापान, क्यानडा, अष्ट्रेलिया जस्ता देशहरु परेका छन् । रामेछापकी अनिता श्रेष्ठ पनि जापान जाने तयारीमा छिन् । उनी अहिले स्नातक तह पढ्दै जापानिज भाषा अध्ययन गर्दैछिन् ।

काठमाडौँको रत्नराज्य कजेलमा दोस्रो वर्ष अध्ययन गर्दै आएकी भक्तपुरकै एउटा कन्सल्टेन्सीबाट भाषा सिक्दै गरेको उनले सुनाइन् । ‘कलेज कहिलेकाहीँ मात्रै जान्छु । नत्र धेरैजसो भाषा सिक्न नै जान्छु । आवश्यक प्रक्रिया भइरहेको छ । केही समयभित्र नै जापान जान्छु होला,’ उनले भनिन् । उनका अनुसार जापानले अध्ययनका लागि नेपाली विद्यार्थीलाई सहज रूपमा भिसासमेत दिइरहेको छ ।

पछिल्लो समय अध्ययनका लागि वैदेशिक रोजगारीमा जाने मोह बढेको छ । कक्षा १२ सकेका अधिकांश युवा वैदेशिक अध्ययनमा जानको लागि आवश्यक तयारी गर्दै आएका छन् । केही युवा मात्रै नेपालमा अध्ययन गरी केही गर्ने सोच बनाएको देखिन्छ । वैदेशिक अध्ययनको बहाना बनाए पनि अधिकांश युवा कमाउनको लागि विदेश जाने परिपाटी बनिरहेको छ ।

विदेशमा पढाइसँगै कमाइ पनि राम्रो भएकाले पनि आफू जापान जाने तयारीमा जुटेको मानन्धरमा भनाइ छ । जापान पुगेको केही समयमा कलेजले नै काम खोज्दिने उनले सुनाइन् । जापानमा अध्ययनसँगै रोजगारीसमेत पाउने भएकाले आकर्षण बढेको उनको भनाइ छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन शाखा (एनओसी)को तथ्याङ्कलाई हेर्ने हो भने २०८० साउनदेखि ०८१ वैशाख २५ सम्ममा ९० हजार ८८७ वटा एनओसी जारी भएको देखिन्छ ।

१११ वटा देशहरुमा एनओसी जारी जारी भएकोमा सबैभन्दा बढी जापानमा ३० हजार ११४ छन् । त्यस्तै, दोस्रोमा क्यानडाका लागि १५ हजार २३७ वटा, तेस्रोमा अष्ट्रेलियाका लागि १२ हजार ५५८ जारी भएका छन् । त्यसपछि एनओसी जारी भएका देशहरुमा बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशहरु छन् । रामेछाप नगरपालिकाको खाँदादेवी नगरपालिकाको रोजगार संयोजक बिपिन केसीका अनुसार पछिल्लो समयमा वैदेशिक रोजगारीमा स्थानीयको मोह बढ्दै गएको छ ।

पालिकाभित्र रोजगारको अभाव, कृषि कार्यको लागि सिँचाइको कमी र आम्दानीको स्रोतको कमी भएकाले वैदेशिक रोजगारीप्रतिको मोह बढेको उनले सुनाए । ‘यहाँका अधिकांश मानिस विदेशतिर नै जाने गर्छन् । अध्ययनसँगै रोजगारीको लागि जाने युवाहरुको संख्या बढदो छ,’ उनले भने । नगरपालिकाले श्रम स्वीकृतीको लागि आवश्यक प्रक्रिया गर्दै आएता पनि अधिकांश स्थानीय सदरमुकाम तथा काठमाडौँमा जाने भएकाले पालिकासँग एकीन तथ्यांक नभएको उनले सुनाए ।

‘हाम्रो पालिका सदरमुकामभन्दा टाढा छ । यातायातको सुविधा राम्रो छैन,’ उनले थपे, ‘मन्थलीमा जिल्ला प्रशासन कार्यालय र रोजगार सेवा केन्द्र रहेकोले अधिकांश उतै जाने गर्छन् । पालिकामा आउनभन्दा मन्थली पुग्न सहज र सजिलो पनि छ ।’ अधिकांश युवा विदेश पलायन भएकाले गाउँमा खेतीपाती गर्नको लागि मान्छे नै नपाइने समस्या आउन थालेको हुनले सुनाए । उमेर पुगेका र केही बाँकी भएका युवाको भरमा कृषि कार्य हुने गरेको उनको भनाइ छ ।

बाँकी भएका स्थानीय पनि सिजनल रोजगारीको लागि इँटा भटामा काम गर्न जाने गरेको उनले सुनाए । महोत्तरीको भंगाहा नगरपालिकामा दैनिक रुपमा २ देखि ३ जनाले श्रम स्वीकृति लिने गरेका छन् । मुलुकमा भनेजस्तो रोजगारी नहुनु र रोजगारी पाइहाले पनि राम्रो पारिश्रमिक नभएकाले श्रम स्वीकृति लिनको संख्या बढ्दै गरेको पालिकाका रोजगार संयोजक सूर्यनारायण ठाकुरले बताए ।

उनका अनुसार नगरपालिकाभित्र करीब एक हजार ९०० जना बेरोजगारीमा सूचीकृत भएका छन् । सोमध्ये करीब एक सय जना प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था छ । ‘यहाँ एक हजार ८५८ जना बेरोजगारीको सूचीमा सूचीकृत छन् । सरकारले रोजगारको लागि वार्षिक ५७ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘सो रकमबाट पालिकाभरी एक सय जनालाई मात्रै सय दिने रोजगारीको लागि बजेट पुग्छ ।’

सोबाट केही मात्रै पारिश्रमिक हुने भएकाले अधिकांश स्थानीय बासिन्दा नै विदेश जाने खोज्ने उनको भनाइ छ । नगरपालिकाभित्रका स्थानीय बासिन्दा साउदी अबर, मलेसिया, दुवई जस्ता खाडी मुलुकमा रोजगारीको लागि जाने गरेको उनले सुनाए । खाडी मुलुकमा सेक्युरिटी गार्ड, कामदार तथा विभिन्न रोजगारीको लागि जानको लागि आउने उनको भनाइ छ । नगरपालिकाका स्थानीय बासिन्दा खाडी मूलुकसँगै भारतमा पनि रोजगारीको लागि जाने गरेका छन् ।

तर, भारतसँगको सिमाना खुल्ला हुनुको साथै भिसा आवश्यक नपर्ने भएकाले सोबारे पालिकासँग कुनै तथ्यांक नभएको उनको दावी छ ।डडेल्धुराको परशुराम नगरपालिकामा पछिल्लो समय वैदेशिक रोजगारीसँगै अध्ययनको लागि जानेको संख्यामा वृद्धि भएको छ । नगरपालिकाको रोजगार सेवा केन्द्रका संयोजक करुणाकर जोशीका अनुसार पछिल्लो समयमा कक्षा १२ अध्ययन पुरा गरेका अधिकांश युवा विदेशमा अध्ययन गर्नको लागि आवश्यक तयारी गर्दै आएका छन् ।

नेपालमा पढाइसँगै रोजगारीको सुरक्षा नभएकाले अधिकांश विदेशमा जान खोजेको उनको भनाइ छ । उनले भने, ‘यहाँ रोजगार छैन । रोजगार भए पनि थोरै मात्रै पारिश्रमिक छ । त्यसैले पनि अधिकांश युवा विदेश जान चाहन्छन् ।’ नगरपालिकाको स्थानीय बासिन्दा खाडी मुलुकसँगै युरोपेली देश, जापान, कोरिया तथा युएसएमा जानेको संख्या बढेको उनले सुनाए । वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्नको लागि नगरपालिकाले सिजलन कार्यक्रम, आर्यआर्जनमूलक कार्यक्रम तथा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको उनले बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतवार १५:३८

लोकप्रिय