बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ३ बैजापुरस्थित प्रसिद्ध ऐतिहासिक भुवरभवानी मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । तर व्यापक प्रचारप्रसार नहुँदा मन्दिर ओझेलमा पर्दै गएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ३ का अध्यक्ष मिनकुमार चौधरीले भुवरभवानी मन्दिरमा पर्यटन प्रवर्द्धन गर्दै जिल्ला मात्र नभएर यस क्षेत्रकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पहिचान गराई व्यापक प्रचारप्रसार गरी देश विदेशबाट समेत धार्मिक पर्यटकहरु ल्याउन सके स्थानीयको समेत आयआर्जनमा वृद्धि हुनसक्ने बताउनुभयो ।
प्रचारप्रसारको कमीले गर्दा सिमित भक्तजनहरु मात्र आउने गरेको भन्दै उहाँले मन्दिरको व्यापक प्रचारप्रसार गर्न सके देश तथा विदेशबाट समेत आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरुलाई ल्याउन सकिने अध्यक्ष चौधरीले बताउनुभयो ।
उहाँले प्रचारप्रसारको अभावमा ओझेलमा परेको भुवरभवानी मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न आवश्यक बजेटका लागि आफूले गाउँपालिका र प्रदेश सरकारसँग पहल गरेको बताउनुभयो ।
राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले मन्दिरको संरक्षण तथा सम्वद्र्धन साथसाथै पूर्वाधार विकासका कामका साथसाथै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्व सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ले भुवरभवानी मन्दिर धार्मिक पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको बताउनुभयो । उहाँले व्यापक प्रचारप्रसार गर्न सके त्यसक्षेत्रका स्थानीयको आयआर्जनमा समेत उल्लेख्य परिवर्तन गर्न सकिने बताउनुभयो ।
हरेक वर्ष प्रदेश सरकारका तर्फबाट मन्दिरको समग्र विकासका लागि बजेट विनियोजन गर्दै आएको उहाँले जानकारी दिनुभयो । पूर्वमन्त्री केसीका अनुसार गत आर्थिक वर्षमा प्रदेश सरकारले भुवरभवानी मन्दिर पर्यटन पूर्वाधार विकासका लागि पर्यटन डिभिजन कार्यालयमार्फत् कार्यान्वयन हुनेगरी ५० लाख रुपियाँ र यस वर्ष पनि ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
राप्तीसोनारी ३ बैजापुरका अगुवा प्रेमराज श्रेष्ठले भुवरभवानी मन्दिरमा पर्यटन प्रवर्द्धन गर्दै यस क्षेत्रकै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि आफूहरु लागिपरेको बताउनुभयो । उहाँले मन्दिरमा माघी मेलामा मात्र नभई बाह्रै महिना धार्मिक पर्यटकहरु आउने वातावरण बनाउन सबैले आ–आफ्नो स्थानबाट काम गर्नुपर्ने बताउनुभयो ।
भुवरभवानी मन्दिरमा थारु समुदायको प्रमुख पर्व माघीको अवसरमा चार दिनसम्म पूजाआजासँगै माघी मेला लाग्ने गर्दछ । यसबाहेक जेठ महिनाको पञ्चमी तिथिमा जेठी पूजैया र मङ्सिरमा लवाङ्गी नयाँ अन्नबाली चढाउने विशेष पूजना हुने गरेको स्थानीय अगुवा बरघरका प्रमुख विष्णुप्रसाद थारुले जानकारी दिनुभयो ।
उहाँले राप्तीसोनारी गाउँपालिकाको वडा नं. २, ३, ४ र ५ का स्थानीयवासीले भुवरभवानी मन्दिरमा विशेष आस्थाका साथ परापूर्वकालदेखि पूजाआजा गर्दै आएको बताउनुभयो । जेठी र लवाङ्गी पूजैया गर्दा लाग्ने खर्च चार वटै वडाका नौ सय घरपरिवारबाट दामासाहीले सङ्कलन गर्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।
भुवरभवानी मन्दिर परिसरमै बागेश्वरी मन्दिर पनि रहेको छ । भुवरभवानी तथा बागेश्वरी मन्दिर संरक्षण तथा सम्बर्द्धन समितिले मन्दिरको व्यवस्थापन गर्दै आएको छ ।
बैजापुरको बनघुस्रा क्षेत्रको हरियाली डाँडामा रहेको भुवरभवानी मन्दिर रमणीय र सुन्दर रहेकोले एकपटक पुग्ने व्यक्ति फेरि पनि आउने गरेको मन्दिर संरक्षण तथा सम्बर्द्धन समितिका निवर्तमान अध्यक्ष तुलसीराम थारुले बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा मन्दिरलाई वैधानिक रुपमा सञ्चालनका लागि विधान निर्माण गर्नेदेखि मन्दिरको सौन्दर्यीकरण र मन्दिर परिसरमा वनभोज स्थलसमेत निर्माण कार्य गरेको उल्लेख गर्नुभयो ।
मन्दिर संरक्षण तथा सम्बर्द्धन समितिका अध्यक्ष टिकाराम थारुले भुवरभवानीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विभिन्न योजनका साथ सरोकारवालाहरुसँग समन्वय गर्दै आफू मन्दिरलाई धार्मिक पर्यटन प्रवर्द्धनसहित पूर्वाधार विकासका कामका लागि अग्रसर हुने बताउनुभयो ।
उक्त मन्दिरमा लाग्ने माघीलगायतका अन्य मेलामा जिल्लाका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतका श्रावस्ती तथा बहराइच लगायतका जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् ।
मन्दिरको व्यापक प्रचारप्रसार हुन सके देशका अन्य जिल्ला र भारतका अन्य जिल्लाबाट समेत भक्तजनहरुलाई मन्दिर क्षेत्र अवलोकन गराउन सकिने स्थानीयको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके