सूचनाको शक्ति - The Power Of Information

        

उपहार भन्दै धुलो खन्याएका बालेनलाई प्रतिकार गर्ने सडक विभागको चेतावनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ भन्दै विभागको कार्यालय अघि खन्याएपछि सडक विभागले आपत्ति जनाएको छ।

विभागका सूचना अधिकारीले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलङ्कीदेखि महाराजगन्जसम्म रिङ रोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको बताउँदै बालेनले उपहारमा धुलो पठाएको बताएका थिए।

मन्त्री रघुवीर महासेठलाई बालेन शाहले ‘दैनिक एक ट्रक धुलो उपहार’ पठाउने पनि बताएका थिए। तर सडक विभागले भने बालेनले धुलो खन्याउनुअघि शनिबार बिहान न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक खण्डमा खण्डमा सडक डिभिजनको अनुमति बिना सडकको विद्यमान क्यारिजवे घटाउने उद्देश्य अनुरूप सडकको दुवैतर्फ पिच कटर प्रयोग गरी कटिङ गरिरहेको भन्दै उक्त काम रोक्न लगाइएको बताएको छ।

साथै डिभिजनले मेसिन नियन्त्रणमा लिएर राखेको थियो । उक्त कार्य काठमाडौँ महानगरपालिकाको कार्यालय अन्तर्गत कार्य भइरहेको जानकारीमा आएपछि आइन्दा अनुमति बिना कार्य नगर्ने सर्तमा उक्त मेसिन फिर्ता बुझाइएको थियो ।

मेयर बालेनले सोही विषयलाई विषयान्तर गरेर डिभिजनसँग सरकार नै नभएको विषयलाई कारण बनाई कानुनी राज्य उपहास गरेको डिभिजनको भनाई छ ।

‘आज मिति २०८१।०२।१२ गते शनिवार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा बिना अनुमति सडक काटी सडकको चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ,’ डिभिजनले भनेको छ ।

शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै सडक विभाग अन्तरगत रहेको सडक डिभिजन काठमाडौँले मिनभवन स्थित कार्यालयको गेटमा महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

डिभिजनको गेटमा देशकै ठुलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने डिभिजनको भनाई छ ।

डिभिजनका अनुसार शुक्रवार मात्र काठमाडौँ महानगरपालिकाका मेयर तथा यस डिभिजनका डिभिजन प्रमुख बिच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो । साथै यस अघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति दिइएको समेत जानकारी गराएको छ ।

आफ्नो कार्य क्षेत्र भित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाएर यस किसिमका अराजक व्यवहार देखाए आगामी दिनमा किमार्थ सह्य नहुने सडक डिभिजन काठमाडौँले स्पष्ट पारेको छ । यसको प्रतिकार गर्न समेत सडक डिभिजन काठमाडौँ बाध्य हुने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतवार ०७:३५

लोकप्रिय