मुगुको सोरु गाउँपालिका कुलाहास्थित झोलुङ्गे पुल लामो समयदेखि जीर्ण रहँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । पुल जीर्ण रहँदा कालैया, खनाया, जिमा, पुरुमुरुका साथै सोरु गाउँपालिकाका बासिन्दा जोखिम मोलेरै धराप पुलबाट वारपार गर्न बाध्य छन् ।
मुगुको कर्णाली नदीमाथि जिमा र कालैया जोड्ने पुल २०३९ सालमा निर्माण गरिएको हो । चार दशक पुरानो पुलमा जोखिम बढेकै तीन वर्ष भैसकेको छ । तर यसबारे तीनै तहका सरकार बेखबर जस्तै देखिन्छन् । सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलमार्फत स्थानीय आउजाउ गर्छन् ।
हिउँदमा जसोतसो नदी पार गर्न सकिने भए पनि बर्खा याममा कसरी घाँस दाउरा गर्ने भन्ने चिन्ता परेको सुनाउँछिन् कालै गाउँकी ताल्मा नेपाली । ताल्माले भनिन्, ‘टाढाबाटै हेर्दा पुल डरलाग्दो छ । एकजनाभन्दा बढीले एकैपटक पुल तर्न सकिँदैन । हिँडाइको सन्तुलन मिलेन भने नदीमा खसिने डर । खेतबारी पारिपट्टी छन्, सधैं घाँसदाउरा गर्नुपर्छ । भारी बोकेर आउँदा मनमा चिसो पसिरहन्छ । यो बर्खा कसो गरी कटाउने हुन् ।’
पुल जीर्ण भएकै कारण गाइवस्तु चराउन समस्या हुने गरेको उनको भनाई छ । पुलमा बिछ्याइएका पाता धेरैजसो उप्किएकाले त्यसमा बालबालिका अल्झेलान् भन्ने त्रासले स्थानीयलाई सधैँ सताउने गरेको नेपालीले सुनाइन् । सोरु गाँउपालिका वडा नम्बर– ६ का मान प्रसाद भट्ट पनि पुल जीर्ण बन्दा सास्ती खेप्नुपरेको सुनाउँछन् ।
‘जिमा र कालै जोड्ने एकमात्र पुलको अवस्था यस्तो जोखिमपूर्ण छ । यी दुवै ठाउँका स्थानीयलाई यही एउटा पुलले जोडेको छ । हिउँदमा जीर्ण पुलको प्रयोग गर्न स्नानीय र गाईवस्तुलाई डर कम भए पनि अब अर्खा सुरु भएपछि कहालिलाग्दो हुन्छ । कर्णाली नदिको बहाव बढ्दा पनि जोखिम मोलेर तीन वर्षदेखि यही पुलबाट आवतजावत गरिरहेका छौं । कसैले सुन्दैनन् हाम्रा समस्या,’ भट्टले दुखेसो पोखे ।
स्थानीय सोरु गाउँपालिकाको केन्द्र जाने मुख्य सेतु नै यही हो । पालिकाको सेवा लिन, बैंकको काम गर्न देखि वृद्धाभक्ता लिन जाने जेष्ठ नागरिकले समेत पुलकै कारण सास्ती खेप्नुपरेको छ । तर, छेउमै रहेको स्थानीय सरकारले नागरिकको समस्या देखेर पनि नदेखे झैँ गरिरहेको स्थानीय धर्मराज चौलागाँईले गुनासो गरे । जीर्ण पुल मर्मतका लागि प्रदेश सरकार देखि स्थानीय तह सम्मको ध्यानाकर्षण गराए पनि पुल निर्माणमा कसैको चासो नगएको उनले बताए ।
तर, आँगनको समस्या समाधान गर्नमा भन्दा स्थानीयलाई नयाँ पुलको आशा देखाएर स्थानीय सरकार समस्याप्रति बेखबर जस्तै बनेको छ । पालिकाले नयाँ पुल निर्माण आफ्नो चासोमा रहेको उल्लेख गरी जनतालाई आश्वासन मात्रै दिने गरेको स्थानीय बताउँछन् । सोरु गाउँपालिकाले उक्त पुलको मर्मत संभार गर्न नसकिने निष्कर्ष निकालेको छ । तर, जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । गाउँपालिकाले सोही पुलको आसपास नयाँ पुल निर्माण गर्न सर्वे गरी सकिएको बताए पनि निर्माणका लागि बजेट छुट्याएको छैन ।
‘यो पुललाई मर्मत गर्न हामी सबैको चासो भएकै कारण प्राविधिक परिक्षण र अध्ययन गराएका थियौँ । परिक्षणबाट प्राविधिक टोलीले पुल मर्मत गरी सञ्चालन गर्न नहुने ठहर गर्दै प्रतिवेदन बझायो,’ सोरु गाउँपालिका उपाध्यक्ष केशरजङ्ग शाहीले भने, ‘पुल महाशाखाबाट यही पुलको आसपास अर्को नयाँ पुल निर्माण गर्न सर्वे गराइसकिएको छ । यो जीर्ण पुललाई मर्मत गरी सञ्चालनमा ल्याउने सम्भावना छैन । त्यसैले नयाँ पुल निर्माण गर्ने विषयलाई पालिकाले सोचिरहेको छ ।’
जिल्लाभर कतिपय पञ्चायतकालमा र कतिपय त्यसपछि निर्माण भएका साना ठूला गरी ६५ झोलुङ्गेपुल निर्माण भएका छन् । २ वर्ष पहिला असोज महिनामा परेको अबिरल वर्षाका कारण मुगु जिल्लामा रहेका चारै स्थानीय तहमा १३ झोलुङ्गे पुलमा क्षति पुर्याएको थियो । बर्खायाममा आउने बाढी र पहिरोका कारण कतिपय पुलहरुमा क्षति पुग्दा समेत सरोकारवालाले मर्मतमा ध्यान नदिएकै कारण पुल झन् जीर्ण बन्दै गएको जिल्ला समन्वय समितिका मुगुका समन्वय प्रमुख मञ्जनबहादुर कार्की बताउँछन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मुगु