२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

‘गोली हान्ने र हान्न लगाउनेलाई कारबाहीको सिफारिस’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन २४ गते आइतबार

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझाएपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २३ मा काठमाडौँको बानेश्वर लगायतको क्षेत्रमा जेनजी किशोरहरूमाथि गोली प्रहार गर्ने र आदेश दिनेहरूलाई कारबाहीको सिफारिस गरिएको बताए ।

उनले भने, ‘गोली हान्ने, हान्न लगाउने र नरोक्ने सबै कारबाहीको सिफारिसमा परेका छन् ।’ भदौ २३ मा भएको जेनजी प्रदर्शनमा प्रहरीले प्रहार गरेको गोली लागेर बानेश्वरमा २१ जनाले ज्यान गुमाएका थिए । कार्कीले भने, ‘किशोरहरूलाई सहिद बनाउनेहरूलाई कारबाही कारबाही गर भनेका छौँ ।’ भदौ २३ र २४ मा भएको घटना जाँचबुझ गर्न समय लागेको हुनाले प्रतिवेदन बुझाउन ढिलाइ भएको उल्लेख गरे ।

कार्कीले भने, ‘निर्वाचनको रिजल्ट कुरेर प्रतिवेदन बुझाएको होइन ।’ मुलुकको लागि काम गरेको हुनाले आफूलाई ‘सन्तोष’ लागेको उनले बताए । प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयनमा जानुपर्छ भनेर आफूले प्रधानमन्त्री र मन्त्रिपरिषद्को सदस्यहरूलाई भनेको उल्लेख गर्दै कार्कीले भने, ‘प्रतिवेदन कार्यान्वयन नभए अर्को आन्दोलन हुनसक्छ भनेको छु ।’

प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार