२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

अध्यक्ष ओलीसहित प्रत्यक्षतर्फ एमालेका सबै पदाधिकारी चुनावमा पराजित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन २४ गते आइतबार

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का सबै पदाधिकारी पराजित भएका छन् । फागुन २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक हुँदा पदाधिकारीहरू पराजित भएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट पराजित भए ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग फराकिलो मतान्तरले पराजित भएका हुन् । बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७३४ मत ल्याए । उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ मा रास्वपाका उमेदवार सुलभ खरेलसँग पराजित भए । खरेलले ५६ हजार ५६० मत ल्याउँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए ।

उनीहरूबीचको मतान्तर ४३ हजार ६८९ छ । अर्का उपाध्यक्ष पृथ्बीसुब्बा गुरुङ लमजुङमा रास्वपाकै उमेदवारसँग पराजित बने । उनी रास्वपाका धर्मराज केसीसँग पराजित भएका हुन् । केसी ३३ हजार ८९८ मत ल्याएर निर्वाचित भए । गुरुङले १६ हजार ८७६ मत पाए । एमालेका महासचिव शंकर पोखरेल पनि फराकिलो मतान्तरसहित पराजित भए ।

पोखरेललाई रास्वपाका सह–महामन्त्री विपीन आचार्यले पराजित गरेका हुन् । आचार्यले ४३ हजार ५५७ मत प्राप्त गर्दा पोखरेलले १५ हजार २८२ मत ल्याए । उनीहरूबीचको मतान्तर २८ हजार २७५ रह्यो । उपाध्यक्ष गोकर्ण विष्ट भने झिनो मतान्तरले पराजित भए । उनी गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थीसँग पराजित भएका हुन् ।

पन्थीले १६ हजार ९६७ मत ल्याउँदा विष्टले १६ हजार ४०६ मत ल्याए । उनीहरूबीचको मतान्तर ५६१ रह्यो । एमाले उपमहासचिव लेखराज भट्ट कैलाली–४ मा पराजित भए । त्यहाँ रास्वपाका खेमराज कोइरालाले चुनाव जिते । कोइरालाले २८ हजार ५५६ मत ल्याए । ९ हजार ४४४ मतसहित भट्ट तेस्रो स्थानमा रहे । कांग्रेसका गोरखबहादुर विष्ट दोस्रो भए ।

विष्टले ११ हजार ३०१ मत ल्याए । उपमहासचिव रघुवीर महासेठ पनि पराजित भए । धनुषा–४ मा महासेठ तेस्रो भए । त्यहाँ रास्वपाका राजकिशोर महतोले चुनाव जिते । महतोले ४८ हजार २७० मत ल्याउँदा महासेठले ११ हजार ५२९ मत ल्याए । कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव दोस्रो भए । उनले १५ हजार ८०९ मत ल्याए ।

सचिव राजन भट्टराई तेस्रोपटक पराजित भए । उनी काठमाडौं–४ बाट पराजित भएका हुन् । त्यो क्षेत्रमा रास्वपाका पुकार बमले २९ हजार १२४ मत ल्याए । कांग्रेसका सचिन तिमिल्सेना आठ हजार ८२४ मत ल्याउँदा भट्टराईले पाँच हजार ७३३ मत मात्रै पाए । त्यस्तै, एमालेका सचिव भानुभक्त ढकाल तेह्रथुमबाट पराजित भए ।

उनी कांग्रेसका सन्तोष सुब्बासँग पराजित भएका हुन् । सुब्बाले ११ हजार ५६१ मत ल्याउँदा ढकालले १० हजार ६२८ मत पाए । अर्का सचिव महेश बस्नेत फराकिलो मतान्तरसहित पराजित भए । भक्तरपुर–२ मा रास्वपाका राजीव खत्री ३१ हजार ३३८ मतान्तरले हराउँदै सांसद निर्वाचित भएका हुन् । खत्रीले ४२ हजार ३३४ मत ल्याउँदा बस्नेतले १० हजार ९९६ मत प्राप्त गरे ।

एमाले सचिव शेरधन राई पनि पराजित भए । भोजपुरमा उनी श्रम संस्कृति पार्टीका ध्रुवराज राईसँग पराजित भएका हुन् । ध्रुवराजले १६ हजार ६६३ मत ल्याए । शेरधनले १४ हजार ७५० मत पाए । पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याल समानुपातिक सूचीमा छन् । उपमहासचिव योगेश भट्टराईले भने टिकट पाएका थिएनन् ।

प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार