सूचनाको शक्ति - The Power Of Information

        

चीनसँग जोडिएका १४ वटा नाका आजदेखि खुल्दै

कोरोनाकालमा चीन सरकारले बन्द गरेका संखुवासभाको किमाथांकासहित उत्तरतर्फका १४ वटा परम्परागत नाका आजदेखि खुल्ने भएका छन् । चीनसँग जोडिएका १३ जिल्लाका ती नाकाहरू २०७६ सालदेखि बन्द भएका थिए ।

बन्द भएका नाका औपचारिक रुपमा खुलेको घोषणा गर्न उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अहिले किमाथांका जाने भएका छन् । त्यहीँबाट उनले किमाथांकासहित १४ वटा नाका एकैपटक खुलेको घोषणा गर्ने कार्यक्रम रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

संखुवासभाको किमाथांकासँगै गोरखा, ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, दार्चुला र दोलखाका परम्परागत नाका आजदेखि खुल्न लागेका हुन् । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गएको चैतमा चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत नाका खुलाउने समझदारी भएको थियो ।

रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाका यसअघि नै सञ्चालनमा आइसकेका छन् । किमाथांका नाका पुनः सञ्चालन गरेर सीमावर्ती क्षेत्रमा सहज आवतजावतका व्यवस्था मिलाउन भोटखोलाबासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार ०९:४६

लोकप्रिय