सूचनाको शक्ति - The Power Of Information

        

हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना

चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । गत मंगलबार काठमाडौंमा पक्राउ गरी रातारात जनकपुर पुर्याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए ।

शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना भएका हुन् । सिरोहियाका वकिल रमन कर्णले उनको स्वास्थ्य अवस्थाबारे प्रहरीलाई शुक्रबार साँझ जानकारी गराए पनि ढिलासुस्ती भएकाले समस्या थपिएको बताए ।

‘मुटुमा कठिनाइ, रिंगटा लाग्ने, टाउको दुख्ने समस्या बढेपछि परिवारले अस्पताल पठाउन प्रहरीलाई आग्रह गरेको थियो । तर, प्रहरी ढिलाइ गर्यो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मात्रै जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरियो,’ कर्णले भने । प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको छ ।

काव्यामा उपचार भइरहेको जानकारी दिँदै डाक्टर एसके सिंहले भने, ‘पहिलेदेखि नै मुटुमा समस्या देखिएपछि मुम्बईमा एन्जिओग्राफी गराउनुभएको रहेछ । क्रिटिकल कन्डिसनमा हुनुहुँदोरहेछ भन्ने थाहा पायौं । अहिले हामीले गरेका परीक्षणको रिपोर्ट प्राप्त भइनसकेकाले छदेखि आठ घण्टाको बीचमा फेरि परीक्षण गराउनुपर्छ ।’

सिरोहियालाई पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या रहेको परिवारले जनाएको छ । स्वास्थ्य अवस्था असामान्य भएपछि काव्या अस्पतालका चिकित्सकले कार्डियोलोजिस्ट डा.ओममूर्ति अनिललाई टेलिफोनमार्फत जानकारी गराइएका छन् । अनिलको समेत सल्लाहमा थप उपचार अघि बढाइएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार ०८:५३

लोकप्रिय