सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा कुखुरा फार्मको पर्खाल खस्दा २०० बढी कुखुरा मरे

सोमबार साँझ आएको हावाहुरीका कारण बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा कुखुरा खोरको पर्खाल खस्दा २०० बढी कुखुरा मरेका छन् ।

हावाहुरीले दुईसय बढी कुखुरा मर्नुका साथै ग्यारेज, खोर तथा दाना मिल, बिद्युत तथा सिसिक्यामेरा र होर्डिङ बोर्डमा ठुलो क्षति पुगेको कुखुरा विकास फार्मका प्रबन्धक डा. सुमन खनालले बताउनुभयो ।

उहाँले फार्ममा रिप्लेसमेन्ट स्टकका लागि हुर्काइएको ८ हप्ते दुईसय बढी कुखुरा मरेको र कालिजको एउटा भाले र ४ वटा पोथी भागेको बताउनुभयो । सोही प्रकारले हावाहुरीले फार्मको ग्यारेजमाथि आँपको रुख ढल्दा ग्यारेजको छत तथा भित्तामा अधिकतम क्षति पुगेको छ ।

सो ग्यारेजमा पार्किङ गरिएका भे १ च १७०७ र भे १ च ६४३ नम्बरको मोटरसाइकल तथा भे १ प १७२३ नम्बरको स्कुटरमा क्षति पुगेको कुखुरा विकास फार्मले जनाएको छ ।

फार्मको खोर नम्बर जी १, जी २ र जी ३ को छाना पूर्णरुपमा क्षति भएको, कालिजका लागि बनाइएको ओपन यार्डमा पूर्ण क्षति भएको, खोर नम्बर एल ३, एल ४ र एल ५ को छानामा क्षति भएको, दाना मिलको छतको चारै कुनामा क्षति पुगेको बताइएको छ ।

क्षतिग्रस्त संरचना तत्काल निर्माण गर्नुपर्ने भएकाले लागत अनुमान तयार गर्ने काम भइरहेको फार्मका प्रबन्धक डा. खनालले बताउनुभयो । यसैगरी बिद्युत तथा सिसिक्यामेराको तार तथा मिटरमा पनि क्षति भएकाले आंशिक क्यामेरा तथा विद्युतको प्रसारण अवरुद्ध भएको उहाँले बताउनुभयो ।

प्रारम्भिक क्षतिको विवरण लुम्बिनी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गत रहेको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलमा पठाइएको फार्म प्रबन्धक डा. खनालले बताउनुभयो ।

सोही हावाहुरीबाट बाँकेमा विद्युतका २०० बढी पोल र चारभन्दा बढी ट्रान्सफर्मर ढलेर क्षति भएको बताइएको छ । हावाहुरीले विद्यालय, घरहरूको छाना तथा पर्खाल पनि भत्किएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार १८:१८