सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा रेबिजको जोखिम बढेपछि कुकुरको बन्ध्याकरण सुरु

????????????????????????????????????????????????????????????

 बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कुकुरले मानिसलाई टोकेका घट्ना बढ्न थालेपछि उपमहानगरमा रेबिजको जोखिम बढेको छ ।

दैनिकजसो कुकुरले टोकेर भेरी अस्पताल पुग्नेहरू बढ्दै गएपछि रेबिजको जोखिम कम गर्ने उद्देश्यले कुकुरको सङ्ख्या घटाउन नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरकी पशु शाखा प्रमुख लक्ष्मी शाहीका अनुसार नेपालगन्जमा कुकुरले टोकेर हुने रेबिजको जोखिम बढ्दै जाँदा कुकुरको बढ्दो सङ्ख्या घटाउन उपमहानगरले सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको हो ।

बन्ध्याकरण शिविरबाट हालसम्म सय भन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको पशु शाखा प्रमुख शाहीले बताउनुभयो । उहाँले थप्नुभयो–“सामुदायिक कुकुरको सङ्ख्याका साथै रेबिज न्यूनीकरणका लागि यो अभियान सञ्चालन गरेका हौँ ।”

नेपालगन्ज उपमहानगरमा रहेका २३० सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको उपमहानगरको पशु शाखाले जनाएको छ । पशु चिकित्सक सुरज चौधरीले पशु अधिकारका विरुद्धमा बन्ध्याकरण नभएको उल्लेख गर्दै सामुदायिक कुकुरको बढ्दो क्रमलाई घटाउनु यसको उद्देश्य रहेको बताउनुभयो ।

उहाँले रेबिजसँगै अन्य विभिन्न रोगको सङ्क्रमणबाट मानिसलाई जोगाउन पनि बन्ध्याकरण आवश्यक भएकाले यो अभियान सञ्चालन गरिएको प्रष्ट पार्नुभयो ।

पशु चिकित्सक चौधरीले बन्ध्याकरण भएपछि कुकुरले टोक्ने वा भुक्ने काम कम गर्ने जानकारी दिँदै कुकुर शान्त स्वभावको हुने बताउनुभयो । नेपालगन्जमा केही दिन यता निरन्तर भइरहेको विद्युत अनियमितताले बन्ध्याकरणमा समस्या भइरहेको उहाँको भनाइ छ । सो अभियान अन्तर्गत ‘डग क्याचर’ मार्फत कुकुरलाई समातेर बन्ध्याकरण गरिने गरिएको छ ।

कुकुरको बन्ध्याकरण गर्नुअघि उसलाई सुई लगाएर बेहोस बनाइने पशु विज्ञको भनाइ छ । सो बन्ध्याकरण अभियानका लागि छ लाखभन्दा बढी खर्च हुने बताइएको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १८:२४

लोकप्रिय