सूचनाको शक्ति - The Power Of Information

        

खानीडाँडामा गोदागोद गर्ने ‘प्राध्यापकहरु’को मिलापत्र

कैलालीको खानीडाँडामा पिकनिक गएका प्राध्यापकहरुको लफडा प्रहरीमा पुगेर मिलेको छ । जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापकहरुको शनिबार खानीडाँडा पिकनिकमा गएका बेला लफडा भएको थियो ।

सोही क्रममा एक जनाले आफूलाई कुटपिट भएको भन्दै सुखड प्रहरीमा हिजो चार जनाविरुद्ध उजुरी गरेका थिए । तर उनीहरू आफैं मिलेर गएकाले मुद्दा दर्ता नभएको र उपचार गर्ने गराउने शर्तसहित मिलापत्र गरिएको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी दिपेन्द्र पालले बताए ।

उनका अनुसार हिजो उनीहरू आफैं मिलेर गएका हुन् । अस्ति पिकनिकका लागि खानीडाँडा पुगेका प्राध्यापकहरूको बिचमा बिवाद भएपछि कुटाकुटको स्थितिसम्म पुगेको थियो । घोडाघोडी क्याम्पसका प्राध्यापक विकास गौतमले आफू खाइरहेको बेला तारानगरका लेखापाल कमल बडुवालले आक्रमण गरेको जनाएका थिए ।

घोडाघोडी बहुमुखी क्याम्पसको वनभोजमा राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र विजय शाहीसमेत थिए । बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका केही प्राध्यापकको बढुवा तथा करारमा रहेकाहरू स्थायी भएको खुसियालीमा उनीहरू पिकनिक गएका थिए ।

सोही कार्यक्रममा प्राध्यापकहरूले मदिरासमेत सेवन गरेपछि आपसमा विवाद भएको थियो । बहुमुखी क्याम्पसका उपप्राध्यापक टीका भट्ट, लेखापाल सिद्धराज न्यौपाने र राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र शिक्षक विजय शाहीको कुटपिटबाट आफ्नो आँखा र घुँडामा चोट लागेको हुँदा गौतमले प्रहरीमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १५:३६

लोकप्रिय