सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा परम्परागत इनारको संरक्षण

नेपालगन्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी परम्परागत कुवा (इनार) संरक्षण गर्न थालिएको छ । नेपालगन्ज—३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारीसमेत प्रवेश गर्न नसक्ने बाटो रहेका कारण आगालागीजन्य विपद्का समयमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि कुवा संरक्षणमा जोड दिइएको हो ।

यस अभियानमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनाले प्राविधिक सहयोग गर्दै आएको छ । वडा नं ७ मा पुराना कुवा (इनार) लाई संरक्षण गरी चार हजार लिटर पानी ट्याङ्कीमा संकलन गरिराख्ने व्यवस्था मिलाइएको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

‘वडा कार्यालय र स्थानीय टोलवासीसँगको सहकार्यमा परम्परागत कुवा संरक्षण गरी आगजनीजन्य विपद्का बेला पानी प्रयोग गर्नसक्ने व्यवस्था मिलाइएको छ,’ ज्ञवालीले भने , ‘केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भइहाले पनि अब ट्याङ्कीबाट जम्मा गरिएको कुवाको पानीले आगो नियन्त्रण गरिनेछ ।’

आगो नियन्त्रण तथा समुदायस्तरमा खोज उद्धार र प्राथमिक उपचारका लागि १८३ स्वयमसेवक परिचालन गरिनुका साथै वडा नं ३ र ७ मा जनचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको ज्ञवालीले बताए । दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेका बस्तीमा आगजनी नियन्त्रणका लागि स्थानीय कुवाबाट पानी सङ्कलन गरी ‘ड्राइफायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ ।

यस विधिमा कुवाको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्नेगरी पाइप जडान गरिएको नेपालगन्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले जानकारी दिए । प्राचीनकालदेखि खानेपानीको विकल्प बनेका कुवाको महत्व र आगजनी नियन्त्रणलाई दृष्टिगत गरी वडाभित्रका सबैजसो कुवाको संरक्षण सुरू गरिएको श्रेष्ठले जानकारी दिए ।

‘प्रयोगमा आउन छाडेपछि पुरिएका कुवाको पुनःनिर्माण गरेका छौँ, विगतमा पुरिएका दुई कुवालाई सरसफाइ र मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइसकेका छौं,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘स्थानीय टोलवासीको सहयोग र समन्वयमा अन्य पाँच कुवाको मर्मत सम्भार गर्ने योजना छ ।’ पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएका कुवाको संरक्षणको जिम्मा स्थानीय टोलवासीलाई नै दिइएको छ । कुवालाई सफा गरेपछि अहिले लुगा धुन, नुहाउन, करेसाबारीमा प्रयोग गर्ने लगायत कामका लागि पानीको प्रयोग हुन थालेको वडाध्यक्ष श्रेष्ठले बताए ।

वर्षौंदेखि प्रयोगविहीन रहेका कुवाको मर्मत भएपछि स्थानीयवासी पनि खुसी भएका छन् । स्थानीय चन्द्रकला गुरुङले कुवाको पानी धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेकाले विवाह, व्रतबन्ध, पूजाआजामा प्रयोग गर्दा उत्तम हुने धार्मिक विश्वास रहिआएको बताए । वडा नं ७ कार्यालयले गगनगन्ज, शिव मन्दिर र मदन-आश्रित मार्ग टोलमा रहेका पुराना कुवाको संरक्षण गर्न लागेको छ । यो कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि दुई वर्षदेखि सचेतना प्रवर्द्धन गरिरहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १३:०९

लोकप्रिय