सूचनाको शक्ति - The Power Of Information

        

जनप्रतिनिधिको दबावमा वन्यजन्तु सिकारीलाई उन्मुक्ति

बारास्थित कोल्हवी सव डिभिजन वन कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिइएका वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटेका छन् । कोहल्वी नगरपालिका–२, झुरझुरेबाट वन कर्मचारी, सशस्त्र प्रहरी बल र झुरझुरे प्रहरी चौकीका प्रहरीको सहयोगमा नियन्त्रणमा लिएका नौं जना सिकारीलाई डिभिजन वन कार्यालयले छाडेको खुलेको हो ।

वन कार्यालयले कोल्हवी नगरपालिका–२ बस्ने दिनेश ठकुरी, ध्रुव कुशुवार माझी, विशाल शाही ठकुरी, कृष्णबहादुर कुशुवार माझी, चन्द्र लामा, केशव कुशुवार माझी, निमेश कुशुवार माझी, सिताराम कुशुवार माझी, रामविनोद दासलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका सबै पेसेवर सिकारी भएको वन कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट बरामद भएको फलामको भालामा जङ्गली जनावरको भुत्ला र रगतसमेत भेटिएको छ । तर सो रगत र भुत्ला कुन वन्यजन्तु हो भन्ने पत्ता लगाउन काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइने डिभिजन वन प्रमुख विनोद सिंहले जनाएका छन् ।

कोल्हवी सवडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिम मियाँले मध्यरातमा वन क्षेत्रमा वन कार्यालयले उनीहरूको साथबाट पाँच वटा मोटरसाइकल, दुई वटा साइकल, वन्यजन्तु सिकार गर्ने फलामको भाला, करिब ४० वटा लौरी, वन्यजन्तुलाई नियन्त्रणमा लिने १५ थान जालोसमेत बरामद गर्ने क्रममा केही स्थानीय महिला आएर घेराबन्दी गरेको बताए ।

डिभिजन वन प्रमुख विनोद सिंहले वन्यजन्तु सिकारीहरूलाई सामानसहित रङ्गेहात नियन्त्रणमा लिएकाले सबैलाई अनुसन्धानको प्रक्रिया पूरा गरेर कानुन बमोजिम कारबाही गर्ने बताका थिए । नियन्त्रणमा लिएका सबैलाई कोल्हवी नगरपालिका–२ का वडा सदस्य दुर्गाबहादुर श्रेष्ठको रोहवरमा छाडिएको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतवार १०:०९

लोकप्रिय